‘अकुत’ सम्पत्ति आर्जन गरेको आरोपमा मकवानपुरका वन अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका अधिकृत (अधिकृत दशौं तह) दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ ५५ पैसा भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनी सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ गतेदेखि २०७८ फागुन १२ सम्मको आम्दानी र खर्चको विवरण हेर्दा १ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ ५५ पैसाको स्रोत खुलेको थिएन ।​​​

गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको कसुरमा सोही बराबरको बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी आयोगले गरेको छ । साथै, कोइरालाले श्रीमती गीता पौडेल कोइरालाको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खातामा रकम मौज्दात गरेकाले गीतालाई पनि प्रतिवादी बनाएको छ ।

श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गर्न आयोगले माग गरेको छ ।

Scroll to Top