ग्रामीण जनजीवनमा आफुलाई आफ्नै स्वरूपमा रोपेर , आदिवासी चेतना फलाइरहेको एउटा अजिव जीवको नाम हो – सुनिल आङ्बो !
पहाडी निगालाका चोयाले पहिचानको डालो बुनिरहेका उनी स्वाभिमानको कविता लेख्छन् !
आफ्नो पसिनाको नदीमा भ्यागुता , माछा जे पाइन्छ उनी त्यही खान्छन् !
माटोलाई अधिक प्रेम गर्छन् । हिलोमा लत्पतिएर बाँच्छन् । परम्परागत शिल्प – शक्तिमा विश्वास गर्छन् ।
फुच्चे ! आङ्बो , समानता र अधिकारका कुरा लेख्छन् । कम्युनिस्ट हुँ , मार्क्सवादी हुँ भने झैं गर्छन् !
तर , पक्का हो । उनी प्रगतिशील काव्य लेख्छन् । उनका सृजनाहरूमा आलोचनात्मक विमर्श पाइन्छ ।
हुन त , धेरै लामो बाटो हिंड्न अझै बाँकी छ उनले । अहिलेलाई उनै सुनिल आङ्बोका ३ ओटा कविता पढ्नुहोस् !
सहिदको उद्वघोष
दरबारहरूको हातामा कैद भएको सपना
अनिकाल र विभेदको मानचित्रमा हाँसीरहेको देशसँग
जीवनको हिसाब खोज्दै , मृत्युु रोजेर
सम्बन्धहरूबाट
बिच्छेद भएका हौं हामी !
समाजवादको सागरमा
भविस्यको जहाज खियाउँदै
मोक्ष प्राप्तिको लक्ष्य बोकेर
रगतले मृत्यु – पत्रमा हस्ताक्षर गरि
बोइलर मुटु बोकेर हिंडेका
शासकहरूलाई परास्त गर्न
आफ्नै आयुलाई हत्केलामा राखेर
सयर भएका हौं !
यो अँध्यारो विरुद्ध
जुनकीरीको उज्यालो निकालेका हौं
र’त मैदानमा
कोहि हिंड्दा – हिंड्दै बीच बाटोमा
कोहि लड्दा – लड्दै आधा मोर्चामा
सहिद भएका हौँ !
तर –
अचम्म दुनियाँ
अभाव र विभेदको पहाड
झन् झन्
सगरमाथा छिचोल्दै उकालै उकालो लाग्दै गयो ।
समृद्धको सालिक पुज्नेहरूले
म र म जस्ता सहिदहरूको रगत
सिनित्तै पारेपछि
वर्ष दिनमा एकचोटि डकार्ने
सहिद दिवस चाहिंदैन अब ।
सहिदहरुको सम्मानमा एक मिनेट मौनधारणमा
लत्रिने तिम्रा शिरहरु चाहिंदैन अब
सालिकबाट निस्केर म सहिद
तिमी विरुद्ध युद्ध मैदानमा फेरि तैनाथ भइसकेको छु !
क्रान्तिको आवाज बोल
म जरुर जान्दछु , सपना देख्नु
सपना देख्नु उपस्थिति हो
सपना देख्नु मेरो पनि सहभागिता हो ।
तर जब सपना देख्न थाल्छु
प्रतिगमनले लात हान्छ
प्रतिगमनको प्रहारले
मेरा कलिला प्रदेशहरू फेरि छट्पट्टीन्छन्
जसरी छटपट्टिन्छ निर्मला पन्त
संसद भवनको आँगनमा
र ओइलिन्छ न्यायलयको ढोकामा ।
गुराँसको अतिक्रमणले लगातार पोतिएर पहाड
मेटिन्छन् मेरो देशको अनेकौं पहिचानहरू
र ,
रहेका बाँकी केही
औंसीको विशाल अध्याँरो साम्राज्यले
निल्न थाल्छ
रैथाने बिम्ब बोकेको मेरा कविताहरू
मेरो जन्म बोकेर उभिएको स्थलहरू
मेरो धड्कन बोकेको लोकगीतहरू
तब मैले यो मृत्युु र जिन्दगी बीच उभिएर
चिच्याउनै पर्छ !
ए इतिहासको पानाहरूबाट उठ
ए यो कंकाल चिहानहरूबाट निस्क
विजयी झन्डाहरू फर्फराउँदै
आवाजमा विद्रोह ओकल्दै
ए ! भुँइमान्छेहरू !
पराजित कहानीहरूलाई च्यात्दै
प्रतिगमन र एकात्मकतालाई फुटाउँदै
क्रान्तिको आवाज बोल
अब क्रान्तिको धुन निकाल !
त्यसपछि देशद्रोही भएँ
गणतन्त्र चोकमा उभिएर
म र म जस्ताहरूको
अनुहार समाबेश नभएको
एक थान संविधान
एक काँटी माच्चिसको सहायताले
दाहसंस्कार गर्दै थिएँ
अलि परतिर –
घण्टाघरबाट आएको
प्रहरी अफिसरले भन्यो
यो देशद्रोही हो , ठोक सालेलाई !