आजदेखि बागमतीमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

काठमाडौं । आजदेखि बागमती प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषा पनि प्रयोग गरिने भएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने निर्णय यसअघि नै गरिसकेको छ ।

यसै सन्दर्भमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको  आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए । 

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णयगरेअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।  वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो।
२४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

Scroll to Top