आज काठमाडौं शिक्षा क्याम्पसले मनायो ३३औं स्थापना दिवस

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १० मा रहेको काठमाडौं शिक्षा क्याम्पसले ३३औं स्थापना दिवस मनाएको छ ।
आज काठमाडौं शिक्षा क्याम्पस स्थापना भएको ३३ वर्ष पुरा भएको अवसरमा आयोजित विशेष कार्यक्रममा बागमती प्रदेश मन्त्री रमा आलेमगर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाप्रसाद शर्मा, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई, चन्द्रागिरि नगरपालिका वडा नंं १० का वडाध्यक्ष शिवकुमार महर्जन, १५ का वडाध्यक्ष घनश्याम लुँइटेल, क्याम्पस सभा सदस्य मोहनकुमार कार्की लगायत उपस्थिति रहेको थियो ।


कार्यक्रममा बागमती प्रदेश मन्त्री रमा आलेमगरले क्याम्पसको शैक्षिक गुणस्तर एवं भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले सदैव साथ र सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । साथै क्याम्पसले हालै गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र (क्यूएए) पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
चन्द्रागिरि नगरले शिक्षा एवम् स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेको र आगामी दिनमा पनि वडा तथा नगरले यस क्याम्पसलाई आर्थिक तथा भौतिक सहयोग गर्ने चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुगंलका वडाध्यक्ष शिवकुमार महर्जनले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं शिक्षा क्याम्पसका प्रमुख एवं नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले क्याम्पसको पछिल्ला गतिविधिहरुका साथै भावी योजनाहरुको बारेमा बताउनुभयो ।

कक्षा ११ देखि स्नानतकोत्तर तहसम्म १ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुहुँदै क्याम्पस प्रमुख गुप्ताले त्रिवि अनुदान आयोग, विभिन्न संघसंस्था एवं क्याम्पसको अग्रसरतामा अध्यनरत ७६ जना विद्यार्थीहरूका लागि नगद छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिनुभयो ।
काठमाडौं शिक्षा क्याम्पसमा शिक्षक तथा कर्मचारी गरी ५६ जना कार्यरत गरेको पनि बताउनुभयो ।
काठमाडौं शिक्षा क्याम्पसले विभिन्न अतिरिक्त क्रियाकलाप तथा परीक्षाहरूमा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरूका लागि नगद पुरस्कार वितरण गरिएको क्याम्पस प्रमुख गुप्ताले बताउनुभयो ।

Scroll to Top