आज चन्द्रागिरी नगरपालिकाको न्यु डायमण्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं  । आजबाट केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने छ ।

पहिलो खेल साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली र त्रिभुवन आर्मी क्लबबीचको खेल बिहान ११ः०० बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा सुरु हुनेछ ।

दोस्रो खेल साविक उपविजेता एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ । गत वर्षको बन्दा यस पटक विजेताले १ लाख ९९ हजार रुपैयाँ बढि प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ सहित शेर बहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । पुरस्कार राशि १३ लाख रुपैयाँ बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेकोमा बताइएको छ ।

Scroll to Top