आज विश्वकर्मा पूजा एवं वास्तु दिवस : के छ शास्त्रीय मान्यता ?

काठमाडौं : प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। 

कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् बताउँछन्।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। 

यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन्। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ।

वास्तु शास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन्। पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ। चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ। लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या बढ्न थालेको छ। – राससको सहयोगमा

Scroll to Top