आठौँ  प्रधानमन्त्री कप भलिबल : उद्घाटन खेल चन्द्रागिरि न्यु डायमन्ड र एपिएफबीच हुने

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल–तालिका आज सार्वजनिक भएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। 

नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतफेको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवै तर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपत्यका बाहिरका टोलीले तयारी स्वरुप १ लाख २० हजार तथा उपत्यका भित्रका सहभागी टोलकिा खेलाडीले दैनिक २ सय ५० रुपैयाँ पाउनेछन् ।

लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिला तर्फ पुलिस, एपिएफ, चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड भलिबल टिम, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् ।

यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बुढानीलकण्ठ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्यु डायमन्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ।

Scroll to Top