आरोपित पक्राउ गर्न सफल चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीसहित २१ जना प्रहरी सम्मानित

सूचना पाएको छोटो समयमा प्रभावकारी अनुसन्धान गरी आरोपित पक्राउ गर्न सफल भएको भनी सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढले २१ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सोमबार जिल्ला प्रहरी परिसरमा सम्मान गरेको छ ।

केही दिनअघि आफ्ना संस्थाको सदस्यसमेत रहेका सोमराज सुुवेदीलाई ज्यान मार्ने, अपहरण गर्ने धम्की दिई २५ लाख रकम माग गरेको घटनाका आरोपित रामचन्द्र थापालाई तत्काल पक्रन सफल भएको भनी चितवन प्रहरी प्रमुख रामेश्वर कार्की, प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डित, प्रहरी निरीक्षक उमाशंकर शाह, वसन्त पाण्डेसहित २१ जनालाई सम्मान गरिएको हो । बेलैमा सूचना पाएमा प्रहरीले जटिल खालका घटना पनि सहजै पत्ता लगाई अपराध हुन नदिन सक्छ भन्ने एउटा उदाहरण यो घटना रहेको भन्दै एसपी कार्कीले नागरिकसँगको सहकार्यले अपराध रोकथाम र न्यूनीकरण सम्भव रहेको बताए ।

सम्मान कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले प्रहरीको मनोबल उच्च बनाउनका लागि नागरिकस्तरबाट सम्मान एवम् पुरस्कार प्रदान गरिएको बताइन् । चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पुरस्कार र सम्मानले आफू र कर्मचारीलाई काम गर्ने थप हौसला मिलेको बताए ।

सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठले प्रहरीले गरेको कामको प्रशंसा गरे । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले व्यवसायीलाई धम्काउने कामको निन्दा गरे । चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले आरोपित थापा वैदेशिक रोजगार मुद्दामा पनि मुछिएको र त्यस मुद्दामा १० लाख बुझाउन पर्ने भएपछि सुवेदीलाई धम्काउन लागिपरेको बताए ।

पटके अपराधी

यसअघि पटकपटक अपराधमा संलग्न भएका रामचन्द्र थापा यसपटक पुनः अपराध गरेको आरोपमा पक्राउ परेका छन् । अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा हेटौँडा–२ का थापा पक्राउ भई अदालतबाट म्याद थपसमेत भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

गत जेठ १४ गते उनी आममाफी पाई छुटेका थिए । गत कात्तिक ८ गते बेलुका थापाले भरतपुर–१ मा रहेको धनवन्तरी मेडिकल हल सञ्चालन गरी बसेका सोमराज सुवेदी र उनको छोराको अपहरण तथा हत्या धम्की दिएको प्रहरीको भनाइ छ ।

०७५ मङ्सिरमा उनीविरूद्ध डाँका मुद्दा चलेको थियो । त्यसमा उनलाई नौ वर्षको कैद सजाय भएकोमा उनी आममाफी पाएर छुटेका थिए । थापा यसअघि पनि सात वर्ष डाँका मुद्दामा जेल बसेर निस्केका व्यक्ति हुन् । त्यसअघि ०६६ जेठ २७ गते चितवन, कविलासस्थित घुमाउनेमा पेस्तोल देखाई डाँका गरेको आरोपमा पक्राउ परी साढे सात वर्ष चितवन कारागारमा बसेका व्यक्ति हुन् ।

भरतपुर महानगरपालिका–८, गौरीगञ्जमा ०७५ मङ्सिर ७ गते भएको एक लुटपाट घटनामा तारानाथ सुवेदीको घरबाट दुई लाख नगदसहित सात लाखबराबरको धनमाल चोरी भएको थियो । घटनामा नारायणगढ–बागलुड जाने बसको टिकट खसालेको र त्यसकै आधारमा खोजी गर्दै जाँदा थापा पक्राउ परेका थिए ।

Scroll to Top