इजरायलमाथि हमासका आतंककारी बन्दुकधारीहरूको आक्रमणः ९ नेपाली घाइते

काठमाडौं– शनिवार हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर परी ९ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्ममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको हो ।

नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । थप अपडेटहरू निश्चित समयमा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिबार हमासका आतंककारी बन्दुकधारीहरूले अचानक इजरायलका विभिन्न नाकाबाट प्रवेश गर्दै विभिन्न शहरहरूमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा केही नेपालीहरू पनि घाइते भएका छन् ।

प्यालेस्टाइनी लडाकूहरूले गाजा पट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध युद्ध थालेको दावी गरेका छन् । यो आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘आफूहरू युद्धमा रहेको’ भन्दै कडा प्रतिकारको चेतावनी दिँदै सैन्य भण्डारलाई व्यापक रूपमा परिचालन गर्न आदेश दिएका छन् ।

गाजा पट्टीलाई नियन्त्रण गर्ने इरान समर्थित हमासले एक भिडियो जारी गरेको छ, जसमा उसका लडाकुहरूले सादा पोशाकमा सजिएका तीन जनालाई समातेको र भिडियो क्याप्सनमा ‘शत्रु सैनिक’ को रूपमा वर्णन गरिएको छ ।

इजरायली सेनाले प्यालेस्टिनी लडाकूसँग गाजापट्टी नजिकका विभिन्न स्थानमा लडिरहेको जनाएको छ । सेनाले प्रतिरक्षा कारबाहीलाई फलामको तरवार नाम दिएको छ । सेनाका प्रवक्ता रिचार्ड हेक्टका अनुसार लडाकूहरूले प्याराग्लाइडर, समुन्द्र र जमिनबाट संयुक्त रूपमा आक्रमण गरेका थिए ।

Scroll to Top