उपत्यकामा आठ लाख बढी सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं । काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा रु ५७ करोड ८४ लाख १९ हजार राजस्व सङ्कलन गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।

काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् ।
हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् ।

Scroll to Top