उपन्यासकार सर्वहारी र वरिष्ठ गायक वैद्यलाई धुस्वां पुरस्कार

प्रसिद्ध उपन्यासकार धुस्वां सायमीको नाममा स्थापित दुई पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारी र वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यलाई दिने निर्णय भएको छ ।

उपन्यास विधामा प्रदान गरिने ‘गंकी धुस्वां बसुन्धरा पुरस्कार’ सर्वहारीलाई र ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ वैद्यलाई दिने निर्णय गरिएको हो । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानका अध्यक्ष अरुण सायमीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गंकी धुस्वां बसुन्धरा पुरस्कार नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । 

त्यस्तै धुस्वां साय्मि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौं गीतहरू रहेका छन् ।

उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नविन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो भने संगीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा सायमी र प्रकाश जिसीसहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो ।

पुरस्कार आगामी माघ १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच प्रदान गरिनेछ । दुवै पुरस्कार ५० हजार रुपैयाँ राशिको हो ।

सर्वहारीको थारू भाषाको पहिलो उपन्यास फुटल करम (२०५५), मुक्त कमैया सम्बन्धी नेपाली भाषामा उपन्यास गन्तव्य (२०५९), थारू भाषाको पहिलो उपन्यास अर्को उपन्यास लाल केरनि (२०६४) प्रकाशित छ । थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष रहेका उनले हाइकु, मुक्तक, बालकविता, लघुकथा, हाँस्यव्यंग्य, यात्रा संस्मरणलगायत विविध विधामा थारू भाषामा पहिलो पुस्तक प्रकाशन गरेका छन् ।

Scroll to Top