एक महिनामै बैंकको खुदनाफा १० अर्ब बढी, ग्लोबल पहिलो हुँदा नबिल दोस्रो

काठमाडौं। एक महिनामै बैंकहरुले १० अर्ब रुपैयाँ बढी खुदनाफा आर्जन गरेका छन्। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन्।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४९ लाख, विकास बैंकहरुले ९४ करोड ८१ लाख र वित्त कम्पनीहरुले ७५ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेका हुन्।

गत आर्थिक वर्षको असार मसान्त वाणिज्य बैंकहरुले ७० अर्ब ३ करोड ७४ लाख, विकास बैंकहरुले  ६ अर्ब १९ करोड ८ लाख र वित्त कम्पनीहरुले १ अर्ब ५४ करोड २५ लाख रुपैयाँ गरी बैंक तथा वित्त कम्पनीहरुले कुल ७७ अर्ब ७७ करोड ८ लाख रुपैयाँ खुदनाफा गरेका थिए। 

एक महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले साढे ८ अर्ब खुदनाफा कमाएका छन्। जसमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले कमाएको छ भने, सबैभन्दा थोरै नेपाल एसबिआई बैंकको छ। 

एक महिनामै सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा पहिलो नम्बरमा ग्लोबल हुँदा दोस्रोमा नबिल र तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये उक्त अवधिमा ५ वटाले ५० करोड बढी १ अर्बबीचमा, १३ वटाले २० करोड बढी ५० करोडबीच र २ वटाले १० करोड रुपैयाँभन्दा कम खुदनाफा आर्जन गरेका छन्। 

साउनमा ग्लोबल आइएमईले ९९ करोड २३ लाख, नबिलले ७५ करोड ५५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ७४ करोड ७९ लाख, हिमालयनले ६३ करोड १२ लाख र कुमारीले ५७ करोड ७१ लाख रुपैयाँ खुदनाफा कमाएका हुन्।

राष्ट्रिय वाणिज्यले ४४ करोड ७० लाख, प्राइमले ४२ करोड ४८ लाख, एनआइसीले ४१ करोड ५४ लाख, एनएमबीले ३८ करोड ३१ लाख, एभरेस्टले ३६ करोड ७६ लाख र नेपाल बैंकले ३६ करोड ४ लाख रुपैयाँ खुदनाफा कमाएका हुन्।

Scroll to Top