एमाले धादिङको अधिवेशन स्थलमा झडप, एक कार्यकर्ताको हात भाँचियो

काठमाडौं ।

नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनमा लफडा भएको छ। 
शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको छ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जनाएका छन्।

अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको ढुंगेलले बताए।

संगठनको लेटरहेट बिना नै विज्ञप्ती जारी भएको छ। ‘तपाईंले नै जारी गरेको विज्ञप्ति हो कि किर्ते भएको होरु’ नेपालखबरको प्रश्नमा एमाले प्रदेश अध्यक्ष ढुंगेलले सो विज्ञप्ती आफैँले जारी गरेको बताए।

‘कार्यक्रममा जाँदा लेटरहेट, चलानी बोकेर हिँडिदैन। त्यसैले साझा पानामा विज्ञप्ती लेखेर हस्ताक्षर गरेको हुँ। अधिवेशन स्थल अशान्त भएपछि यसो गर्न बाध्य भएँ।’

यता, पार्टीको लेटरहेट प्रयोग नगरी सार्वजनिक गरिएको प्रदेश अध्यक्ष कैलाश ढुंगेलले हस्ताक्षर गरेको विज्ञप्ती किर्ते भएको एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले दाबी गरे।

त्रिपाठीले अधिवेशन नरोकिएको जानकारी दिदैं पार्टीको लेटरहेटमा विज्ञप्ती सार्वजनिक गरेका छन्।

‘२०८० माघ १९ गते देखि जारी नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन भैरहेकोे अवस्थामा केही अनाधिकृत व्यक्तिले अधिवेशनको कार्यक्रम स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ। बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भईरहेको व्यहोरा अवगत गराउद सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु,’ जिल्ला अध्यक्ष त्रिपाठीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यता, बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुंगेलल आफ्नो गुट स्थापित गर्न यस्तो रणनीति अपनाइएको आरोप एमाले नेताहरुले लगाएका छन्। आफ्नो गुटको हार निश्चित भएपछि ढुंगेलले जिल्लाका नेताहरु खेम लोहनी र रमेश आचार्यको इशारामो संगठनको लेटर प्याड, छाप र चलानी बिना मनोमानि ढंगले विज्ञप्ती जारी गरेको आरोप नेताहरुको छ।

Scroll to Top