एसइईको नतिजा भोलि बिहान प्रकाशन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार बिहान प्रकाशन गरिने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन गर्न नसकिएको हो ।

बुधबार दिउँसो १ बजेट परीक्षाफल प्रकाशन गर्ने सम्बन्धमा सानोठिमीस्थित बोर्डको कार्यालयमा बोर्ड बैठक बसेको थियो ।

बैठकले बुधबार प्रकाशन गर्दा रात पर्ने भएकाले बिहीबार बिहान नतिजा प्रकाशन गर्ने निचोड निकालेको हो। 

‘सबैजसो तयारी भइसक्यो, अब प्रोसेसिङको काम मात्रै बाँकी छ। सिस्टममा प्रोसेसिङ गर्दा ४–५ घण्टा लाग्ने रहेछ,’ बोर्ड अध्यक्ष  शर्माले भने, ‘आजै प्रकाशन गर्दा राती ८–९ बज्ने भयो, त्यसैले भोलि विहानै नतिजा प्रकाशन गर्छौं।’

१५ चैत्रदेखि २७ चैत्रसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरका  दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ ।
त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।
साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्

Scroll to Top