ऐतिहासिक, सांस्कृतिक नगरी चन्द्रागिरि

चन्द्रागिरि नगरपालिका नेपालको बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्लाको पश्चिमतर्फ रहेको छ । यस नगरपालिका काठमाडौं जिल्लाभित्रको सबभन्दा ठूलो नगरपालिका हो । २०७१ मंसिर १६ गते नेपाल सरकारको निर्णयअनुसार साविक स्थानीय विकास मन्त्रालय हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप गर्दा काठमाडौं जिल्लाको साविक थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ वटा गाउँ विकास समितिहरुलाई समेटेर २५ वटा वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरेको थियो ।


नेपालको संविधानअनुसार राज्य पुनःसंरचना आयोगको पुनःसंरचनापछि नेपाल सरकार, मन्त्री परिषद्को २०७३ फागुन २२ गतेको स्थानीय तह पुनःसंरचनासम्बन्धी निर्णय २०७३ साल फागुन २७ गते राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भई चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो ।


चन्द्रागिरि नगरपालिकाको पूर्वतर्फ काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका पर्छ भने पश्चिमतर्फ धुनिवेंशी नगरपालिकाको सिमाना पर्छ । त्यस्तै उत्तरतर्फ नागार्जुन नगरपालिका पर्छ भने दक्षिणतर्फ थाहा नगरपालिका र इन्द सरोवर गाउँपालिकाको सिमाना पर्छ ।


समुद्री सतहदेखि २५ सय ५२ मिटरको उचाईमा रहेको चन्द्रागिरि डाँडाको मुनी रहेको ऐतिहासिक, सांस्कृतिक चन्द्रागिरि नगर बागमती प्रदेशअन्र्तगत काठमाडौं निर्वाचन क्षेत्र नं. ९ र १० मा पर्छ । यसको क्षेत्रफल ४३.९ वर्गकिलोमिटर (१६.९ वर्गमाइल) सम्म फैलिएको छ ।
काठमाडौंको मुख्यद्वारको रुपमा रहेको चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुमा रहेको छ ।
सुन्दर पर्यटकीय, ऐतिहासिक नगरी चन्द्रागिरि नगरपालिका स्वच्छ वातावरण, हरियाली अनि हिमाली दृश्य देखिने यस नगरमा धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वका थुप्रै सम्पदा छन् । त्यसैले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्न सकिन्छ ।
मिश्रित जातिको बसोबास रहेकामा नेवार समुदायको बाहुल्य छ । वस्तीमा समयसमयमा विभिन्न सांस्कृतिक जात्रा र पर्व मनाइन्छ । सातगाउँले जात्रा, मच्छेनारायण जात्रा, नैकापको विष्णुदेवी जात्रा, इन्द्र जात्रा यहाँका मुख्य जात्रा हुन् ।
नगरपालिका क्षेत्रको ६३ प्रतिशत भूगोल डाँडाकाँडा छ । डाँडाबाट हिमाली लर्कन, हरिया पवर्तको सुन्दर दृश्य देखिन्छ । त्यहाँबाट पूर्वदेखि पश्चिमसम्मै हिमालको सेताम्मे लर्कन देखिन्छ ।

चन्द्रागिरि डाँडाबाट उत्तरतर्फ देखिएको सुन्दर हिमाली दृष्य


काठमाडौंको चन्द्रागिरि नगरपालिकामा घुम्ने, सिक्ने र रमाउने धेरै सम्पदा छन् । हिमालसँग आँखा जुधाउँदै विभिन्न डाँडामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्न ज्यादै आनन्ददायी ठाउँ हो चन्द्रागिरि । चैत वैशाखमा चन्द्रागिरि डाँडामा लालीगुराँस डाँडै भरी फुलेको मनमोहक दृष्य देख्न सकिन्छ ।
‘ऐतिहासिक, सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ भन्ने मूल नारा बोकेर नगरको विकास अभियान थालिएको छ ।
चन्द्रागिरि नगरमा घुम्न जानै पर्ने ठाउँहरुमा पहिलो नम्बरमा पर्छ भालेश्वर मन्दिर ।


चन्द्रागिरि नगरको दक्षिणमा पर्ने चन्द्रागिरि डाँडामा रहेको छ भालेश्वर मन्दिर । डाँडामा प्यागोडा शैलीको भालेश्वर मन्दिर छ । यहाँ हरेक वर्ष फागु पुर्णिमाको दिन विशेष मेला लाग्छ । धार्मिक तथा प्राकृतिक हिसाबले पनि भालेश्वर मन्दिर प्रख्यात छ । चन्द्रागिरि डाँडाबाट पूर्वदेखि पश्चिमसम्म फैलिएका गणेश, लाङटाङ, दोर्जे, लाक्पा, गौरीशंकर, सगरमाथा लगायतका हिमालहरु देख्न सकिन्छ ।


भालेश्वर मन्दिर काठमाडौं र मकवानपुरको संगम स्थलमा पर्छ । त्यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो दृष्य देखिन्छ । भालेश्वर ऐतिहासिक ठाउँ पनि हो । नेपाल एकीकरण तयारीका बेला राजा पृथ्वीनारायण शाह मामाघर भएर चन्द्रागिरि भञ्ज्याङ आएका थिए । भञ्ज्याङबाट सुन्दर काठमाडौं उपत्यका हेरेर उनले भालेश्वरमा भाकल गरी पछि त्यतैबाट काठमाडौं आक्रमण गरेका थिए ।


चन्द्रागिरि डाँडामा केबलकार सञ्चालन भएपछि त्यस ठाउँमा पृथ्वीनारायण शाहको सालिक बनाइएका छ भने त्यसै ठाउँमा पृथ्वीनारायण शाहले सेनासहित काठमाडौं उपत्यकालाई नियाली रहेको अर्को सालिक पनि बनाइएको छ । जसले गर्दा त्यस ठाउँमा जाने पर्यटकहरुको फोटो खिच्ने पहिलो रोजाइ पनि भएको छ ।

मातातीर्थ
Scroll to Top