ओली चौथोपटक प्रधानमन्त्री बन्दै

एमाले अध्यक्ष शर्मा केपी ओली आज चौथोपटक प्रधानमन्त्री नियुक्त हुँदै छन् ।

राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएर संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए । शुक्रबार नै एमाले र कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको दाबी पेस गरेका छन् । 

सुरुमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी, मन्त्रालय टुंगो लगाउन आन्तरिक गृहकार्यमा कांग्रेस र एमाले

ओलीनिकट स्रोतका अनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ ग्रहण हुनेछ । ‘आइतबार नियुक्ति हुन्छ, सोमबार विहान ११ बजे शपथग्रहणको जानकारी पाएका छौँ, त्यसैअनुसार तयारीमा छौँ,’ स्रोतले भन्यो । 

यसअघि कहिले प्रधानमन्त्री बनेका थिए ओली ?
ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसद्मा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए ।

ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए । यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् । 

Scroll to Top