कतारी अमिर होटल सोल्टीमा बस्ने, सबैभन्दा महँगो कोठा दुई दिनलाई बुक

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आएका कतारी राजाको बसाइँ दुई दिनसम्म होटल सोल्टीमा हुनेछ ।

कतारी राजाको लागि होटलको सबैभन्दा महंगो कोठा प्रेसिडेन्टल रुम बुक भएको छ ।

होटलमा सबैभन्दा महंगा कोठाको दर एक दिनको करिब ४ हजार डलर राखिएको छ । यो रकम नेपाली रुपैयाँमा करिब ५ लाख २८ हजार रुपैयाँ हुन्छ । सोल्टी होटलमा २८२ वटा कोठा छन् । यसमध्ये ६ वटा प्रेसिडेन्टल सुइट रुम रहेका छन् ।

कतारी राजाको नेपाल भ्रमणको सम्मानमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ । विदेशी राष्ट्रप्रमुखको पहिलो भ्रमणमा विगतमा सार्वजनिक बिदा दिने अभ्यास भएकोले कतारी राजा आउँदा पनि सरकारले बिदा दिएको जनाइएको छ ।

कतारी राजा थानीको सम्मानमा राष्ट्रपति पौडेलले रात्रीभोज दिँदै छन् । उक्त भोज सोल्टीमा हुँदैछ ।

बुधबार थानीसँग प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेट र औपचारिक रुपमा हुने दुइपक्षीय वार्ता भने बत्तिसपुतलीमा रहेको होटल द्वारिकाजमा हुनेछ ।

Scroll to Top