कतारी राजाको स्वागतमा राष्ट्रपति एयरपोर्ट जाने, २१ तोपको सलामी दिइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने छन् ।

कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

साढे ४ देखि साँझ ५ बजेसम्मका लागि विमानस्थलले ‘नोटिस टु एयरमेन’ (नोटम) जारी गरेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बीच समाचार आदाप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने छन् ।

Scroll to Top