कवि सुमिनाका सशक्त कविताहरू

कविताले भावना मात्रै टेकेर हिंड्यो भने कविता यदाकदा थाक्न सक्छ । तर , अलिकति विचार , दृष्टिकोण र प्रतिरोधी चेतनाको दृष्टिबाट कविताले यात्रा तय गर्यो र एक निश्चित गन्तव्यतिर कविता हिंड्यो भने शब्दले सारथी र सार्थकता प्राप्त गर्छ ।

कविता कविको निजि अभिव्यक्ति भएर पनि हरेक गोचरकर्ता – ग्रहणकर्ता र स्पर्शकर्ताहरूको सामुहिक छलफलको गम्भीर विषय पनि हो !

गएको केही समय यता नेपाली साहित्यको कविता विधामा अनेकखाले कविताकृति र कविहरूको जबरजस्त सहभागिता देखिएको छ । जसमध्ये कवि सुमिना एक पृथक उपस्थिति हुन् !

“बागी स्त्रीको आत्मकथा” कविताकृति मार्फत नेपाली साहित्यमा सुस्तरी प्रवेश गरेकी सुमिनाको काव्यिक विशेषता , मातृसत्ताप्रदत्त भाव अभिव्यक्ति एवम् नारी मुक्ति सम्बन्धी प्रस्तावना रहेको देखिन्छ !

आजको शनिबार – साहित्यबारमा कवि सुमिनाको ३ ओटा कविता प्रस्तुत गरिएको छ ।

ईश्वर


कसैले भने-
जननी हो ईश्वर
समस्त संसारको रचयिता हो ईश्वर

कसैले भने –
ईश्वर सर्वत्र छ र सर्वशक्तिमान् छ ईश्वर

मैले एक एक सँग प्रश्न गरेँ
खै को हो , कहाँ छ ईश्वर ?

कति पवनलाई इसारा गर्दै बोले
-तत्काल चलिरहेको बतास हो ईश्वर
-हामिले लिइरहेको श्वास हो ईश्वर
-हामी उभिएको धर्ती आकाश हो ईश्वर

कोही सामूहिक आवाजमा बोले
-यो पृथ्वीमा कुनै त्यस्तो बस्तु छैन
जहाँ ईश्वर समाहित छैन

ईश्वरलाई खोज्दा म ठोक्किएँ
क्रमिक अनेकौँ दृश्यहरूसँग

-मन्दिर छेउको आँगनमा चिच्याइ चिच्याइ
भिख मागिरहेको थियो
एउटा वृद्ध भिखारी

-भिखारीलाई नाघ्दै र कुल्चिंदै
आतुर थिए
ईश्वर भेट्न ईश्वरका भक्तहरू

म आफै सँग प्रश्न गरेँ –
यति अमर्यादित अभद्र निर्दयी छन् ईश्वरका भक्त भने
आखिर कस्तो छ यिनको ईश्वर ?

बगलमै छरिएका थिए नगन्य रुपियाँ
सुन चाँदीका गहना

भक्तहरू तँछाड मछाड गर्दै बर्साइरहेका थिए दौलत

तब लाग्यो –
साँच्चिकै दौलतकै सौखिन पो रहेछ ईश्वर

जब गरियो
धारिलो हतियारले प्राण बध
भनियो ईश्वरकै खातिर

तब लाग्यो अपराधी पनि त रहेछ ईश्वर

जब बज्छ हरेक बिहान
गगन चुम्ने महलको छतबाट
सहर ब्युँझाउने गरि मन्दिरको घण्ट
चर्को ध्वनि प्रवाहित गर्दै
मलाई यस्तो लाग्यो
होइन होइन धनाढ्यहरूको भव्य सान रहेछ ईश्वर

कहिले आफ्नै फाइदाको खातिर
ईश्वरको निर्माण गरे शासकहरू
कहिले स्वयं ईश्वर बने र हैकम गरे
आफू अनुकूल बनाए ईश्वर

फगत भ्रमको खेती गरि
जब खेल्छन् दिन दुखिहरूको आस्थासँग धर्मका अनुयायीहरू
तब म ईश्वर निरीह देखेँ , निर्जीव देखेँ
जस्तो छन् चेसबोर्डका गोटिहरू
कोही मनपरी चालिरहेकाछन्
यहाँ देखि त्यहाँ सम्म
खेलिरहेका छन् व्यापारी मस्तिष्कहरू बुद्धिचाल

तब लाग्यो –
व्यापारीहरूको फगत मोहोरा रहेछ ईश्वर

न क्रिश्चियन , न इसाई न हिन्दु न मुश्लिम
न शिव , न येशू , न अल्लाह
म समस्त ईश्वरको अस्तित्व अस्वीकार गर्छु
र आफ्नो कवितामा लेख्छु

विज्ञानलाई स्वयं ललकार्ने
मूर्ख शासकहरूको निर्माण
फगत एउटा भ्रम पो रहेछ ईश्वर !

 

तलास

________________

रुखिएको छ जिन्दगीको ओस

बगैंचा जङ्गल बनेको छ

थिचिएका छन् गुलाबका फूलहरू

यद्यपि

नजिकै हुर्किएका छन्

सुख्खा काँसका फूलहरू

रङ्गहरू हराएर यो समय

श्वेत बनेर उभिएको छ !

तथापि म तलास गरिरहेछु

दूर -दूरसम्म

जिन्दगीको बाटोहरूमा

हरियाली अतिरिक्त

खै कहाँ उभिएका छन्

रङ्गहरू चुहाउदै गुलमोहरका लाल बोटहरू ?

 

शनैः शनैः

हराइरहेछ जिन्दगीको नूर

प्रहर सन्ध्या बनेको छ

बिस्तारै खोसिँदैछ उज्यालोको आधिपत्य

तत्कालै हुने नै छ सूर्यास्त

प्रकाश चोरेर यो समय

धूमिल- धूमिल घुर्मैलो बनेर उभिएको छ !

 

तथापि म तलास गरिरहेछु

दूर – दूरसम्म

जिन्दगीका क्षितिजहरूमा

धमिलताको अतिरिक्त

प्रशस्त अभिलाषा बोकेर

खै कहाँ उभिएको छ बिहान !

 

यद्यपि ऋतु त होइन जिन्दगी

तर बद्लिरहन्छ

शिशिरको तुसारो चिर्दै

समयकै बाइपासबाट

सुटुक्क आइपुग्छ वसन्त !

 

छ कष्टकर चकमन्नतामा प्रकाशको पर्खाइ

तर यथार्थ हुदैन अमान्य !

 

कहाँ मेट्न सक्छ अस्तित्व पूर्णिमाको

फगत एक पलको आमावश्या ?

 

आधा आधा


न पूर्णता न रिक्तता
बस् !
आधा आधा
आधा अनुभूति , आधा उच्छ्वास
आधा व्यग्रता , आधा धैर्यता
आधा निष्कर्ष , आधा अन्यौलता
आधा तृष्णा , आधा सन्तुष्टि
आधा कौतुहल , आधा आनान्दानुभूति !

कसले भन्छ ?
आधा ,
शक्ति सन्तुलनको क्षीण अवस्था हो भनेर ?
आधा,
शक्ति सन्चयको उच्चतम बिन्दु पनि हो !

केही नहुने ‘शुन्य’ होइन आधा
बरु केही भएर पनि केही ‘रिक्त’ हुनु हो आधा !

रिक्तता भन्दा पर र पुर्णता भन्दा वर
आधा त्यस्तो समागम बिन्दु हो
जसले सधै ‘नकार’लाई होइन
‘सकार’ आगमनलाई समास गर्छ ।

आधा भएरै पानी छचल्किन्छ !
के छचल्किनु पोखिनु हो रित्तिनु हो ?
छचल्काव तरङ्ग हो
तरङ्ग जीवनको मौलिक लय हो !

हो !
तिमीले छोएपछी
आधा स्पर्श ,आधा दृश्य
आधा लगाव ,आधा सद्भाव , आधा प्रेम
म भित्र कतै गतिशील तरङ्ग छोडिरहेको छ

केही ‘कम्पन’ जस्तो
केही ‘थिर’ जस्तो
पुर्णता जस्तो रिक्तता जस्तो
छट्पटी जस्तो
आनन्दानुभूति जस्तो
व्यग्रता जस्तो उच्छ्वास जस्तो
तृष्णा जस्तो सन्तुष्टि जस्तो
अन्यौलताजस्तो
किंकर्तव्यविमूढता जस्तो
कस्तो कस्तो ..

सायद “आधा” केहि अद्भुत अनुभूति हो !
जसले नगन्य भावावेशहरूलाई
आफू किनार उद्वेलित गरिरहन्छ !

Scroll to Top