कांग्रेसले एक्लै चुनाव लड्ने हिम्मत नगरे अझ कमजोर हुँदै जान्छ : डा. शेखर कोइराला 

काठमाडौं । नेपाली कांग्रेसको नेता डा. शेखर कोइरालाले चितवन जिल्ला केही वर्ष यतादेखि प्रजातान्त्रिक बाटोबाट बाहिर गएको बताउनुभएको छ । 

चितवन– काठमाडौंं प्रजातान्त्रिक संगमको १२ औँ अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले यो सबै नेपाली कांग्रेसकै कारण भएको बताउनुभयो । ‘नेपाली कांग्रेसले गल्ती नगरेको भए आज चितवनको यो अवस्था आउने थिएन’, उहाँले भन्नुभयो । 

नेपाली कांग्रको नेतृत्वले ठिक काम गरेको भए आज यो अवस्था नआउने उहाँले बताउनुभयो । कांग्रेस भित्र एकले अर्कालाई स्विकार्दै नस्विकार्ने स्थितिको कारण अहिलेको अवस्था आएको कोइरालाको भनाइ छ । 

कोइरालाले अहिले देशको अवस्था बिग्रँदै गएको बताउनुभयो । देशको अवस्था अहिले कहालीलाग्दो भएको उहाँले टिप्पणी गर्नुभयो । ‘अहिले दशको स्थिति अत्यन्तै नाजुक छ, राजनीतिक मात्रै होइन, आर्थिक, सामाजिक धार्मिक अवस्था अस्तव्यस्त छ, अराजकता तिर देश गइरहेको छ, त्यसलाई सम्हाल्ने कसले ?’, कोइरालाले प्रश्न गर्नुभयो । 

देशको यो अवस्थालाई सम्हाल्न लोकतान्त्रिक पार्टी नै चाहिने कोइरालाले बताउनुभयो । ‘लोकतान्त्रिक पार्टी भन्ने बित्तिकै नेपाली कांग्रेस बाहेक अरू लोकतान्त्रिक पार्टी त छैन’, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस परिवर्तन नभई देश परिवर्तन नहुने उहाँले दाबी गर्नुभयो । त्यसैले नेपाली कांग्रेसलाई जनतासँग जोड्ने काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘त्यस पछि देशलाई पनि हामी परिवर्तन गर्न सक्छौँ’, कोइरालाले भन्नुभयो ।  

नेपाली कांग्रेसको शक्ति क्षीण भएको भएको नभई मानसिकता नै क्षीण भएको कोइरालाले बताउनुभयो । नेपाली कांग्रेस जस्तो ठुलो पार्टी एक्लै चुनावमा जान डराएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘स्थानीय निर्वाचनमा पनि डराउँछौँ, प्रदेश र केन्द्रको निर्वाचनमा पनि डराउँछौँ, जबसम्म हामी एक्लै निर्वाचन लड्ने आँट र हिम्मत गर्दैनौँ, कम्युनिष्टसँग मिलेर जाने सोच हाम्रो नेतृत्वले बनाइराख्नु भएको छ, त्यसरी अगाडी बढ्यौँ भने हामी झन् झन् कमजोर हुँदै जान्छौँ’, उहाँले भन्नुभयो । 

सही ठाउँमा सही मानिसलाई राख्न सकिएन भने संस्था बिग्रिँदै जाने कोइरालाले बताउनुभयो । अहिले सरकारमा बस्ने मान्छे त्यस्तै भएका उहाँको भनाइ छ । सरकारको गतिविधिकै कारण देशबाट सबै खाले जनशक्ति विदेश पलायन हुँदै गएको उहाँले टिप्पणी गर्नुभयो । आज बाबु–आमाका लासले विदेशमा रहेका छोरा–छोरी कुर्नु पर्ने अवस्था आएको कोइरालाले बताउनुभयो । 

Scroll to Top