कांग्रेसले लोकतन्त्रको भद्दा मजाक उडायो : गृहमन्त्री लामिछाने

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक उडाएको सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै आरोप लगाएका छन्।

प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेकाले संसदको विधिअनुसार विश्वासको मत लिँदासमेत कांग्रेसले अवरोध गरेको उनले बताए । 

गृहमन्त्री लामिछानेले सरकार व्यक्तिकेन्द्रित नभई विषयकेन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने दावी गरे। उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्तिकेन्द्रित माग सम्बोधन हुन नसक्ने बताए।

‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने सवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो । प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था हो‚’ उनले भने, ‘आइतवार प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन उभिएको थिएँ। गिरीबन्धु जग्गाको विषय बिर्सेको होइन। त्यसमा पनि को-को सहभागी छन् छानबिन गर्नुपर्छ।’

Scroll to Top