काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम शनिबार ३३.६ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो ।

शनिबार धनगढीको अधिकतम तापक्रम ४२.१, दिपायलको ४०.५, वीरेन्द्रनगरको ४०.३, भैरहवाको ३९.८, घोराहीको अधिकतम तापक्रम ३८.४ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.७, दिपायलको ३९.८, वीरेन्द्रनगरको ३८.५, भैरहवाको ४०.२, घोराहीको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आउँदा दिनमा अझै तापक्रम बढ्ने अनुमान गरिएको छ । महाशाखाका अनुसार नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

यस्तै, काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

हाल देशमा उल्लेख्य मौसमी प्रणाली छैन । स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

Scroll to Top