काठमाडौंमा बिहानैदेखि वर्षा, सोमबारसम्म देशका विभिन्न भू–भागमा वर्षा हुने

काठमाडौँ । काठमाडौं उपत्यकामा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक(दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने देशभर आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

“काठमाडौं उपत्यकामा आज दिउँसो २/३ बजेसम्म वर्षा हुने र रोकिनेक्रम चलिरहनेछ,” मौसमविद् गोविन्द झा भन्छन्, “त्यसपछि भने काठमाडौंमा आज दिउँसो वर्षा हुने छैन ।” यद्यपि, लगातार वर्षा भने नहुने उनको भनाइ छ ।

सोमबारसम्म देशका विभन्न भू–भागमा वर्षा हुने मौसमविद् झाले बताए ।

Scroll to Top