कीर्तिपुरका जनतासँग प्रधानमन्त्री साक्षात्कार सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) ले मिति २०८० भाद्र १६ गते देखि सुरु गरेको जनतासँग माओवादी : विशेष रुपान्तरण अभियानका क्रममा हिजो नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुरका जनतासंग प्रधानमन्त्री प्रचण्ड साक्षत्कार कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुभएको थियो ।

साक्षात्कार कार्यक्रममा २०६४ सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा कीर्तिपुरका जनताले प्रचण्डलाई अत्यधिक मत दिएर विजय गराएको र गणतन्त्रका प्रथम प्रधानमन्त्री बनाउन सफल भएको भएता पनि अपेक्षाकृत ढंगले कीर्तिपुरको विकासको निम्ति प्रचण्डको ध्यान पुग्न नसकेकोमा कीर्तिपुर बासिले गुनासो गरेका थिए । सो कार्यक्रममा उपस्थित आम जनता तथा कार्यकर्ताहरुले कीर्तिपुरका जनताहरुले भोग्नुपरेको समस्याहरु विशेष गरि स्वबासी र वेनिस्सा जग्गा लगायत अन्य ऎतिहासिक लायकु दरबार, सङ्ग्रालय, विभिन्न मठ मन्दिरको संरक्षण, सम्बर्द्धन र विकासका लागी पहल गर्नुपर्ने तथा जनताको आर्थिक , सामाजिक, सांस्कृतिक उन्नति सहित दैनिक व्यवहारमा सहजता ल्याउने खालका विषयमा केन्द्रीय अभियान ल्याउनुपर्ने भन्ने कुराहरू जोडदार तवरले उठाएका थिए ।

प्रमुख अतिथि प्रचण्डले २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा आफुलाई जिताउन कीर्तिपुरबासी जनताहरुले खेलेको भुमिकाप्रती आफुले गर्व गरेको र त्यसको लागी सबै जनताप्रति आभारी रहेको कुरा व्यक्त गर्नुभयो भने हजारौं सहिद हरुको बलिदान, आम नेपाली जनताहरुको त्याग तपस्या र समर्पणको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो पटक प्रधानमन्त्री भएर देश र जनता को पक्षमा काम गरिरहेको तथा सामाजिक न्याय, सुशासन , समृद्धि कायम गर्न सदैव प्रयत्नशील रहेको कुरा बताउनु भयो साथै उहाले हाल १० वर्षे जनयुद्ध, ऎतिहासिक संयुक्त जन आन्दोलन,मधेस आन्दोलन लगायत उत्पीडित वर्ग, समुदायको त्याग तपस्याबाट सिर्जित लोकतन्त्र , गणतन्त्र जस्तो जनता हितानुकुलको शासनलाई उल्टाउन चाहने सामन्ती सोचका केही समुह , व्यक्तिहरुले विभिन्न किसिमका भ्रमहरु सिर्जना गरि देशलाई नै अन्योलताको गोलचक्रमा लान खोजिरहेकोले यस प्रवृत्तिका विरुद्ध सम्पुर्ण लोकतान्त्रिक शक्ति एकै ठाउँमा बसेर त्यस्तो व्यथिति र भ्रमलाई चिर्नुपर्ने कुरा बताउनु भयो ।

जनयुद्ध र विभिन्न आन्दोलनबाट शान्ति प्रक्रियामा आउँदै प्रथम गणतन्त्रको प्रधानमन्त्री बनेर काम गर्दैगर्दा अनुभवको कमीले गर्दा आफुले सोचे अनुसारको काम गर्न नसकेको कुरालाई स्वीकार गर्दै काम गर्ने क्रममा आफुले थुप्रै अनुभवहरु हासिल गरेको र ती अनुभवको आधारमा अबका दिनमा जनताको अपेक्षा अनुरुपको कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो साथै , हाल नेपाल सरकारले गरेका जनपक्षीय कार्यक्रमको बारे पनि सारांशमा राख्नु भयो भने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पनि आफू मन्त्रीको जिम्मेवारीमा आईसकेपछी गरेका देश र जनपक्षीय कार्यहरूकोबारे आफ्ना भनाई राख्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, माओवादी केन्द्रका सचिव हितमान शाक्य , स्थायी समिति सदस्य एवं पुर्व भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ , स्थायी समिति सदस्यहरु अमृता थापा , अन्जना बिसंखे , लगायतको उपस्थिति रहेको सो कार्यक्रम कृर्तीपुर नगर समिति अध्यक्ष दिल बहादुर महर्जनको अध्यक्षतामा संचालन भएको थियो भने कृष्ण ढुङ्गानाले संचालन गरेका थिए ।

Scroll to Top