कुनैबेला म पनि एउटा प्रेमी थिएँ

मौन आवाज

नदीसँगै बग्ने नदी थिएँ

गतिशील छाल – तरंग – बहाव थिएँ !

नअस्ताउँने घाम

झिल्मिल ईन्द्रेणी

पुर्णिामाको जून थिएँ !

वर्षायामको घनघोर वर्षा

हुरी / बतास र / तेज आँधी थिएँ !

सपना देख्ने आँखा थिएँ

भाव बुझ्ने हृदय

र प्रेम सम्झिने मस्तिष्क थिएँ !

फुलसँगै फुल्ने कोमल फुल थिएँ

पवित्र – नरम – स्निग्ध भावना थिएँ !

बोध थिएँ

बोधहरुको बोधार्थ थिएँ

पदहिन पदार्थ थिएँ

शब्दहरुको शब्दार्थ थिएँ !

अर्थहरुको अर्थ र चेतनाहरुको चेतना थिएँ !

के मात्रै थिइनँ र म त्यतिबेला –

वेगहरुको आवेग थिएँ

आवेगहरुको वेग थिएँ !

रङ्गहरुको रङ्ग थिएँ

उन्मादहरुको उमंग थिएँ !

अबोध – चञ्चल – एउटा मानिस थिएँ !

अहिले पो उदास पहाड भएँ

अहिले पो उजाड मौसम भएँ !

– कुनैबेला म पनि एउटा प्रेमी थिएँ !

Scroll to Top