केकीको ‘परदेशी २’ असोज २६ गतेबाट रिलिज हुने

अभिनेत्री केकी अधिकारीको गत वर्षको भदौ १७ गते रिलिज भएको फिल्म ‘झिँगे दाउ’ पछि उनका फिल्म खासै चलेका छैनन् । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्मले अनपेक्षित रुपमा सफलता हासिल गरेपछि केकीका लागि धेरै पछि खुशी दिलाएको थियो । 

यसपछि उनले अभिनय गरेका फिल्म ‘हिजो आजका कुरा’, ‘नाइँ नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जय हो’ रिलिज भए । यी फिल्मबाट केकीलाई काम गरेको छु भन्नेबाहेक अरु सफलता मिलेन । 

अब भने केकीलाई यही असोज २६ गतेबाट रिलिज हुने फिल्म ‘परदेशी २’ बाट ठूलो आश छ । यस फिल्मको प्रचारप्रसारमा केकी देश दौडाहा अभियानमै दौडिरहेकी छन् । 

‘परदेशी २’ चलेको खण्डमा उनलाई ‘झिँगे दाउ’को एक वर्ष पछाडि सफलता मिल्नेछ । यो फिल्मको प्रचारमा पनि केकीको सक्रियता हेर्दा फिल्ममा उनले राम्रो भूमिका पाएकी छिन् भन्ने बुझ्न सकिन्छ । 

केकीले पनि प्रचारमा मौलिक कथामा अभिनय गर्ने आफ्नो रहर ‘परदेशी २’ ले पुरा गरिदिएको भन्दै निर्देशक नारायण रायमाझीको तारिफ गरिरहेको सुनिएकी छन् । उनले परदेशी २ सबै नेपालीको कथा रहेकाले आफूले दर्शकका रुपमा नारायणको फिल्म हेरिरहे पनि अहिले आएर सहकार्य गर्न पाउनु खुशीको कुरा भएको बताएकी छन् ।

केकीको आत्मविश्वास र प्रचारमा उनको एकाग्रतालाई हेर्ने हो भने पनि फिल्म सफल हुनेमा केकी ढुक्क देखिन्छिन् । फिल्मको अघिल्लो संस्करणले सफलताको स्वाद चाखिसकेको देखेकी र बुझेकी केकीका लागि ‘परदेशी २’का सफलताको नयाँ स्वाद कस्तो पाउँछिन् भन्ने देख्न र बुझ्न असोज २६ गते पर्खनै पर्ने हुन्छ ।

Scroll to Top