के दशैँसम्मै पानी पर्न सक्छ ?

असोज १८ गते बिहिबारदेखि मनसुन पश्चिमी क्षेत्रबाट विस्तारै बाहिरिने

यस वर्ष अक्टोबर २४ मा विजया दशमी अर्थात् दशैँको टीका परेको छ । अधिकमासका कारण यसपालि दशैँ पोहोरभन्दा तीन साता ढिलो सरेको हो ।
दशैँसम्म मनसुनी वर्षा कायम रहने सम्भावना चाहिँ सामान्यतः नहुने मौसमविद्हरू बताउँछन् ।
नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । यसैबीच, मौसमविदहरुले असोज १८ गते बिहिबारदेखि मनसुन पश्चिमी क्षेत्रबाट विस्तारै बाहिरिने जनाएका छन् ।
जल तथा मौसम विभागले आज पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसमविद्हरूका अनुसार वायुमण्डलमा मनसुन बाहिरिइनसकेको अनि अर्कोतर्फबाट पश्चिमी न्यूनचापीय प्रणाली सुरु हुने बेलाको सङ्क्रमणले गर्दा कहिलेकाहीँ ठूलो वर्षा हुने गरेको पाइन्छ।
प्रारम्भिक अवस्थामा मनसुन कमजोर हुँदा कहिलेकाहीँ मनसुनको अन्त्यतिर धेरै पानी पर्ने सम्भावना समेत हुने बताइन्छ ।
यस वर्ष मनसुनमा’ औसतभन्दा कम नै वर्षा भएको’ विभागका वरिष्ठ मौसमविद् पौडेल बताउँछन् ।
यद्यपि त्यसो भन्दैमा दशैँ आसपासमा ठूलो पानी पर्न सक्ने सबै सम्भावनालाई नकार्न नसकिने मौसमविद्हरू बताउँछन् ।

Scroll to Top