कोजुमेलमा टकिला स्वाट्ट स्वाट्ट !

“आहा ! उः हेर हेर,” मैले प्रतिभालाई कोट्याउँदै भनेँ ।
“के ?”
“देखिनौँ ? हाम्रै घर अगाडिको बिजुलीको तारमा लस्करै बसेका गौँथलीका झुन्ड जस्ता चराहरू ।”
बाल्यकालमा मलाई कति रमाइलो लाग्थ्यो चुनिखेलको घरको झ्यालबाट बाटोपारिको टेलिफोनको तार (नेपालकै पहिलो टेलिफोन लाइन) मा लस्करै बसेर चिर्बिराइरहेका गौँथलीका झुन्डको क्रियाकलाप हेर्दा ।
त्यही दृश्य हेर्न म बिहान सखारै उठेर आँखा मिच्दै झ्यालमा पुगिहाल्थेँ । गौथलीहरू कोही भुर्र उडेर जान्थे त कोही भुर्र उडेर बस्न आइपुग्थे । तार खाली हुन पाउँदैनथ्यो एक छिन् पनि । चिरबिर चिरबिरको सङ्गीतमा लठ्ठै पर्थे म । रमाइलो लाग्थ्यो तारमा माला उनिए झैँ उनिएका गौँथलीका झुन्ड देख्दा । तर अहिले त्यस्तो रमणीय दृश्य देख्न पाइन्न । कता गए होलान् ती मायालु गौँथलीका झुन्ड ?
अहिले कोजुमेल टापुमा सोही दृश्य देख्न पाउँदा छक्कै ! झझल्को आयो थानकोटको ।
“ए हो त १ कुन चरा होलान् हगि । ठ्याम्मै गौँथली जस्तै ।” प्रतिभा पनि मख्खिइन् ।
“गौथली जस्ता देखिए पनि गौँथली हैनन् कि ? गौँथली त पातलो सुलुत्त परेको सानो कालो चरा हो । कालै भए पनि यी चरा त सारुङ जत्रा ठुला देखिन्छन्, जीउ पनि सुलुत्त परेको छैन । खै कुन्नि १”


“मेक्सिकोको टापुमा पुगेर मोटाए होलान् नि १” प्रतिभाको उद्गार । फिस्स हाँसे म ।
दृश्यावलोकनका लागि पर्यटकीय बस हुइँकिरह्यो, दृश्यहरू फेरिँदै गए । हाम्रै सहर बजारका जस्ता दृश्यहरू । डेनटनको परिवेशभन्दा नितान्त भिन्न । गुचमुच्च घरहरू, मुन्ड मुन्ड र खरले छाइएका ।
समुद्रको किनारै किनार कुदिरहेको बसमा रैथाने गाइड फ्रान्सिस्को महाशय भट्भट्याइरहेका थिए । हसमुख, बोलक्कड र सबैलाई आकर्षण गर्ने खुबी भएका गाइड फ्रान्सिस्को कोजुमेल टापुकै बासिन्दा रहेछन् । टापुबारे उनलाई बढी नै जानकारी हुने नै भयो ।
उनी भन्दै थिए, “कोजुमेल टापु मेक्सिकोको यकुटान प्रायव्दीप (Yucatan peninsula) मा अवस्थित छ । यो टापु करिब नौ माइल चौडा र चौध माइल लम्बाइमा बे आफ मेक्सिकोमा फैलिएर रहेको छ । यहाँ मायान समुदायको घना बस्ती छ । मायान मून गडेज (Mayon Moon Goddess) यहाँकी आराध्य देवी हुन् । यो एक रमणीय पर्यटकीय क्षेत्र हो । यहाँ घुम्न लाखौँ पर्यटकहरू वर्षेनी भित्रिन्छन् ।”
म चारैतिर हेर्नमा व्यस्त थिएँ । प्रतिभाले भनिहालिन्, “लौ ! यहाँ त साइकिल पनि चल्दोरहेछ । बाइक पनि त प्रशस्तै चल्दोरहेछ नि ! ”
“हो हगि ! नेपालमा जस्तै । बाटाघाटा पनि त साँघुरा रहेछन् नि ! गल्ली गल्छेडाहरू पनि उस्तै । बजार क्षेत्रमा मानिसको भिडभाडले पनि हाम्रै सहरबस्ती सम्झाउँदोरहेछ । ”
पसलहरू असरल्ल थिए । कतै कतै त फुथपाथे पसलहरू पनि देखिए । रमाइरह्यो हाम्रो मन । सुमित्रा र निभेद बसको पल्लोपट्टिको सिटमा रमाइरहेका थिए । सौजन आफ्नै धूनमा मस्त देखिन्थ्यो ।


गाइड फ्रान्सिस्को के के फलाक्दै थिए केही बुझेँ, केही बुझिनँ, उसको रैथाने अमेरिकी बोली । त्यसै त अङ्ग्रेजी बुझ्न कठिन आफूलाई, त्यसमा पनि लेब्रो तानेर बोलेको अमेरिकी उच्चारण हम्मेहम्मे नै पथ्र्यो मलाई ।
उनी भन्दै रहेछन्, “दुई हजार वर्ष पहिलेको र अहिलेको अवस्थामा आमुल परिवर्तन भैसकेको छ यस टापुमा । टापुका विभिन्न स्थानमा सहर बस्ती बढेका छन् । रहनसहन पनि फेरिएका छन् । सहरहरूमध्ये सान मिगल (San Migual) एउटा प्रमुख सहर मानिन्छ । बुझनु भयो? यो टापु विश्वकै दोस्रो मुँगाको समुद्री चट्टान (Coral reef) हो । यसलाई मेसोमेरियन समुद्री चट्टानी घेरा (Mesoamerican Barrier Reef)पनि भनिन्छ ।”
आम्मै ! हामी त मुँगाको पहाडमै पो पुगेछौँ त ! कतातिर होला मुँगाको चट्टान ? म यताउता आँखा घुमाउँछु । धत्, मुगाको चट्टान त समुद्रको पिँधतिर पो हुन्छहोला, सतहमा खोजेर पाइन्छ कतै !
गाइड फ्रान्सिस्को भन्दैरहेछन्, “यस टापुमा घुम्न आउने खास समय हुन, जनवरीदेखि अप्रिलसम्म, मेदेखि अक्टोबरसम्म र नोभेम्बर डिसेम्बर महिना । यी बेलामा त मलाई भ्याइ नभ्याइ हुन्छ । हा हा हा !” हाँस्छन् मज्जैले ।
मलाई पनि रमाइलै लाग्छ उनको ठट्यौले पारा । हामी पनि रमाइलै बेलामा आइपुगेका रहेछौँ मार्च महिनामा । मार्च महिना अनुकूलित हुँदोरहेछ पर्यटकहरूका लागि । धन्य सौजन सुमित्राको सुझबुझ ।
बस रोकियो एक स्थानमा । हामी उत्रियौँ, चासो न हो नयाँ कुरा देख्ने । थ्री अमिगोज (Three Amigos) साइनबोर्ड झुन्डिएको फुसले छाइएको एउटा घर आँगनले मज्जाले स्वागत ग-यो । बगैँचाको शान्त स्थानमा हामी शीतल खोज्दै सियालतर्फ छेलियौँ ।
थ्री अमिगोज केत्तुकी जातको विरुवाको जराबाट बनाइने टकिला (Tequila) भनिने प्रसिद्ध रक्सीको शोरुम रहेछ । प्राङ्गणमै हामी सबैलाई एक कप पेयपदार्थ चाख्न दिइयो र बगैँचामा छिराएर टकिला केबाट बन्छ ? कसरी बन्छ ? यो के हो ? आदिको जानकारी दिन कुनै कन्चुस्याइ गरेनन्, न त गरे प्रति बोतल बिस डलरदेखि दुईहजार डलरसम्म पर्ने विभिन्न ब्राण्डका टकिला नै चाख्न । चखाए धीतमरुन्जेल एक बिर्गोजति अट्ने सानो गिलासमा एक घुट्कोमा स्वाट्ट स्वाट्ट ।
“ड्याडी सम्झना भो ? म विराटनगरमा कार्यरत रहँदा एकै घुट्कोमा स्वाट्ट पार्नुपर्ने रक्सी चखाएको थिएँ नि ? सम्झनु भयो ?” फिसिक्क हाँस्दै सौजनले सम्झाउन खोज्योे ।
हो त सौजनले उहिल्यै चखाएको थियो । झलक्क सम्झेँ, “त्यही हो त यो टकिला ?”
“हो ड्याडी । त्यही हो ।” सम्झनु भएछ ।
कुरै कुरामा थाहा भयो, टकिलाको कच्चा पदार्थ रहेछ ब्लु अगाभ (the blue agave plant) भनिने केत्तुकी जातको विरुवाको जराको गाँठो, जुन रोपेको आठदस वर्षमा तयार हुँदोरहेछ ।
केत्तुकीको विरुवा हे-यौँ । हामी कहाँको र यहाँको के फरक रहेछ र ! केत्तुकी त केत्तुकी नै त हो । हाम्रा पूर्खाले केत्तुकीको पातबाट डोरी बाट्न जाने, त्यही सिकाएर गए । हामीले अरु खोजी गर्न सकेनौँ, भएकै डोरी बाट्ने सिप पनि लोप हुँदै गए । जाँगर काखी च्यापेर हिँड्यौँ हिँडिरह्यौँ, न्यानो मान्दै । अर्काको जाँगरको फल चाख्नमै रमायौँ । जाँगर देखाएनौँ । आफूले फुटिकौडी पनि उत्पादन गर्न खोजेनौँ । तर टकिलाबासीहरूले केत्तुकीको जरा उखेलेर पनि रक्सी बनाइ छोडे र विश्वविख्यात बने ।
गरे नहुने के रहेछ र ! जान्न खोजे भने पातदेखि जरासम्म कामलाग्दो रहेछ । भाङको विरुवा पनि त बहुआयामिक हो नि ! फूल र पातबाट औषधी, डाँठको बोक्राबाट कपडा वा भाङ्ग्रा, डाँठको भित्री भाग दाउराको रूपमा पनि प्रयोग गर्न सकिन्छ । तर हामीकहाँ गाँजाखेती गर्न नै बन्देज छ । सदुपयोग गर्न जान्नु पनि पर्दोरहेछ ।
उनीहरूले हामीलाई देखाए, कसरी केत्तुकी रोप्ने, कसरी उखेल्ने ? खेतीबाट ल्याउने कसरी ? ल्याएर के गर्ने ? कसरी टुक्र्याउने, काट्ने ? कसरी कुट्ने ? कसरी धुलो पार्ने ? कसरी कुहाएर जाँड बनाउने ? टकिला कसरी बनाउने र बन्छ कसरी ? आदि इत्यादि ।
केत्तुकीबाट रक्सी बनाउन सकेनौँ लौ हामीले । ठिकै छ । तर, पुर्खाले छोडेर गएको सिप जोगाइराख्न पनि सकेनौँ । तिनै रेसाबाट डोरीका साथै बोरा बुन्न सक्थ्यौँ, कपडा बुन्न सक्थ्यौँ । बुनेका पनि हाँै विगतमा । लगाएका पनि हौ भाङ्ग्राका टोपी, इस्टकोट आदि । तर अब हामी सभ्य बनेछौँ । त्यस्ता कोरा र भद्दा सामान किन लगाउने ? पाखे भनाउन ? मनोवृत्ति र मनोभावना कति गए गुज्रेछ हँ हाम्रा ! सुधार गर्दै लान सकिन्नथ्यो र ! जाँगर भए पो । अरुले गरेकोमा वाह वाह गरी ताली ठटाउन जानेका छौँ । यसैमा मख्ख छौँ, बस् ।
हालका दिनमा हाम्रोमा केत्तुकी देख्नै पाउन छोडिसक्यो । यता धमाधम खेती बढाउँर्दै छन् केत्तुकीको । टकिलाको उत्पत्तिस्थल मेक्सिकोको एउटा प्रान्त ग्वादुलहारा (Guadalajara) को उत्तरपश्चिम पैसठ्ठी किलोमिटर टाढा पर्ने टकिलागाउँ (the city of Tequila ) रहेछ । त्यही गाउँको नामबाट यो पेयपदार्थको नाम जुरेको रहेछ टकिला ।
मध्यपश्चिम मेक्सिकोको उच्च पहाडी क्षेत्र जाल्तो जेहालिस्को (Los Altos de Jalisco) मा पनि केत्तुकी अर्थात् ब्लु अगोज प्लान्टको खेती राम्रैसँग सप्रिएको रहेछ ।
केही पारखी यात्रीहरूले टकिलाका बोतल नमुनाका लागि किने, तर हामीले त्यतातिर ध्यान दिएनौँ र कोजुमेल डाउनटाउनतर्फ लाग्यौँ ।
हाम्रो टुरिष्ट बस अगि बढ्यो नगरपरिक्रमा गराउँदै । विभिन्न प्राचीन आधुनिक स्थलहरू देखिँदै ओझेल पर्दै गए । सुन्दर बस्ती रहेछ कोजुमेल ।
यस टापुमा प्रवेश गर्ने तीन नाका रहेछन्, पहिलो, मेक्सिकोको ल्पेया डेल कारमेन (Los Altos de Jalisco) सिटीबाट चालिस मिनेटमा फेरीबाट आउन सकिन्छ, अर्को एक मात्र अन्तरराष्ट्रिय विमानस्थल, जुन साह्रै सानो रहेछ, बाट भित्रिन सकिन्छ भने तेस्रो विकल्प रहेछ पानीजहाज ।
पानीजहाज (Playa del carmen) बाट आउन पनि तीन ओटा पोर्टहरू रहेछन्, पुन्ता लांगोस्ता (Punta Langosta), प्वोर्टो माया (Puerto Maya) र अन्तरराष्ट्रिय क्रुज टर्मिनल (International Cruise Terminal), जहाँबाट हामी भिसा लगाएर छिरेका थियौँ र फर्किँदै छौँ डेनटन, टेक्सास केहीबेरमा ।
हामी कोजुमेल डाउनटाउनमा पुग्यौँ । त्यहाँ घुम्न पन्द्र बिस मिनेटको समय दिएर हामीलाई फुक्का गरिदिए गाइडले ।
रल्लियौँ हामी केहीबेर वरपर । सागरको किनारमै रहेछ डाउनटाउनको ठुलो चोक । चोकमा घण्टाघर उभिएको देखियो भने एउटा सालिक शान्तसँग उभिइरहेको भेट्यौँ, जसको शीरमा एउटा परेवा निर्धक्क सियाल तापिरहेको थियो । परेवाले बिस्ट्याए पनि शान्त रहने सालिक कस्को हो भनी खुट्याउन खोज्दा पादपीठमा लेखिएको अक्षरहरू अस्पष्ट थिए । तैपनि पढेँ, लेखिएको थियो Lic. Benito Juarez Garcia, Presidente De Mexico – 1859-1872 । सायद यो स्पेनिस भाषामा लेखिएको थियो कि !
अहो ! यिनै पो रहेछन् पहिला र एक्ला प्रजातान्त्रिक रूपमा चुनिएका आदिवासी मेक्सिकोका छब्बिसौँ राष्ट्पति । उनको योगदान ठुलै रहेछ भन्ने बुझियो । नमन गर्दै गन्तब्यतर्फ लाग्यौँ हामी ।
अबको गन्तब्य थियो बीच (Beach) अर्थात् समुद्री तट । बसले पु-यायो कोकोज बीच । यो कोको रेष्टुराको प्राइभेट बीच अर्थात् सामुद्रिक तटीय क्षेत्र रहेछ । यहाँ समुद्रमा पौडी खेल्ने, खैरो बालुवामा घाम ताप्ने तथा खाने बस्ने व्यवस्था रहेछ । अर्धनग्न युवायुवती, बालबालिकाहरू सामुद्रिक छालमा रमाइरहेका देखिन्थे भने तटको बालुवामा मस्तले घाम तापिरहेका थिए ।
सिर्सिर चिसो बतास चलिरहेको थियो । घाम पनि न्यानो हुन सकेको थिएन । तैपनि सामुद्रिक छालमा हामी पनि केहीबेर रमायौँ । अगिल्लोपटक अमेरिका आउँदा मिसिसिपीको बिलोक्सी बीचमा रमाएका थियौँ । अहिले कोजुमेल टापुको कोकोज बीचमा रमाउँदै छौँ ।
बिलोक्सीमा रमाउँदा नाति निभेद छ महिनाको शिशु थियो भने अहिले सात वर्षीय बालक बनेको छ । ऊ पनि रमायो मस्तले पानीमा खेल्न पाएकोमा । छालसँगै खेल्दा बालसुलभ चञ्चलता त्यसै छचल्किएको देखिन्थ्यो । खेल्न उसलाई पुगेकै थिएन ।
सौजन र सुमित्राले पनि रमाउँदै खेले छालसँगै । केहीबेर खेलेर नास्ता खाएपछि फर्कियो हाम्रो बस । कार्निभल क्रुजले दिएको समयमा पुग्नैथियो अन्तरराष्ट्रिय क्रुज टर्मिनलमा । हामी समयमै टर्मिनल पुग्यौँ ।
सौजन र सुमित्राले गाइड फर्नान्सिसलाई केही ट्रिप दिए । ट्रिप लिने दिने चलन अमेरिकी क्षेत्रमा ज्यादै रहेछ । जे काम गरिदिए पनि थ्याङ्कु र ट्रिप दिनुपर्ने । गज्जब !
हामी सवार भएपछि कार्निभल पानीजहाजले कोजुमेल टापु छोड्यो र मेक्सिको पनि छोड्दै गयो ।

०६ चैत, २०८०
१९ मार्च, २०२४
डेनटन, टेक्सास, अमेरिका

Scroll to Top