खोटाङका गजेन्द्र राई बने ११ औ लिगलिगे राजा

कार्तिक २०८०, बुधबार

खोटाङका गजेन्द्र राइ ११ औ लिगलिगे राजा बन्न सफल भएका छन् । बुधवार गोरखाको पालुङटारमा आयोजित लिगलिगे दौडमा ६९ प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी ११ औ लिगलिगे राजा बन्न सफल भएका हुन् ।

उनले चेपे र मर्याङ्दी नदीको दोभान चेपेघाटदेखि लिगलिगकोट सम्मको १३.५ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए । उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् ।

निर्धारित दुरी ५६ मिनेट ५३ सेकेण्डमा पार गर्दै त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो बनेका छन् ।
त्यसैगरी यसअघिका बिजेता अनिस थापा यसपटक तेस्रो बनेका छन् । निर्धारित दुरी उनले ५८ मिनेट ३५ सेकेण्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।

नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडबाट राजा छान्ने परम्परा थियो । प्रत्येक वर्ष विजया दशमीका दिन मर्स्याङ्दी नदी र चेपे नदीको सङ्गमस्थल चेपेघाटदेखि लिगलिगकोटको मूल दरबारसम्म दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्राउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ । वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

विजेतालाई एक लाख नगद पुरस्कारसहित श्रीपेच (पगरी), ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइने व्यवस्था छ । दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागीता रहेको थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोहुदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो ।

Scroll to Top