गाजाको सबैभन्दा ठूलो अस्पतालमा ट्याङ्कहरूसहित पसे सयौँ इजरायली सैनिक

काठमाडौं । इजरायलले गाजास्थित अल‍–शिफा अस्पताललाई लक्षित गरेर आफ्ना सैनिकहरूले कारबाही गरेको जनाएको छ।
अस्पतालभित्र रहेका प्रत्यक्षदर्शीहरूले कमान्डो सैनिकहरू अस्पतालको मुख्य आकस्मिक कक्षमा प्रवेश गरेको जानकारी दिएका छन् ।
इजरायली सैनिकहरू अल‍–शिफा अस्पतालमै प्रवेश गरेको यो पहिलो घटना हो । यसअघि उनीहरू गाजाको सहरी क्षेत्रमा प्रवेश गरेपछि त्यहाँ भीषण भिडन्तहरू भएका थिए ।

टनेल

अस्पताल बाहिरै रहेका इजरायली सैनिकहरूले स्थानीय समय अनुसार रातको २ बजेपछि हमास लक्षित कारबाही सुरु गर्ने घोषणा गरेका थिए ।
प्रत्यक्षदर्शीहरूले गाजामा रहेका बीबीसीका संवाददाता रुस्दी अबु अलुफलाई सयौँ सैनिकहरूले आक्रामक कारबाही गर्दै अस्पताल प्रवेश गर्दाको दृश्य र सैनिक ट्याङ्कहरू परिसरभित्र देखिँदाको क्षणबारे वर्णन गरेका छन् ।
अस्पतालभित्र परिचालित भएका सैनिकहरूको सङ्ख्या र त्यसको उद्देश्य अझैसम्म प्रस्ट छैन ।

इजरायलले उक्त अस्पताललाई हमासले आफ्नो मुख्यालय बनाएर काम गरिरहेको र अस्पताल रहेको जमिनमुनि हमासका गतिविधिहरू सञ्चालनका लागि संरचनाहरू रहेको दाबी गर्दै आएको छ ।

अस्पताल

गत मङ्गलवार अमेरिकी गुप्तचर निकायले आफूलाई प्राप्त गोप्य जानकारीले पनि त्यस्तो दाबीको पुष्टि गरेको बताएको थियो । उसले हमास र प्यालेस्टाइनको अर्को लडाकू समूह इस्लामिक जिहादको पनि “अल‍–शिफामा निर्देशन र नियन्त्रण इकाई” रहेको साथै त्यहाँ उनीहरूले “हतियार भण्डारण गरेको” दाबी गरेको छ ।
हमासले यस्तो दाबी अस्वीकार गर्दै आएको छ र ह्वाइट हाउसको पछिल्लो भनाइले इजरेललाई उक्त अस्पतालमा आक्रमणका लागि बाटो खोलिदिन खोजेको बताइको छ।
यद्यपि ह्वाइट हाउसले अस्पतालमा ‘दोहोरो भिडन्त नहोस्’ भन्ने चाहेको प्रतिक्रिया दिएको छ । ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ताले राष्ट्रपति जो बाइडनको भनाई दोहोर्‍याउँदै अस्पताल र बिरामीहरूको सुरक्षा हुनुपर्ने बताएका छन् ।
इजरायलले भने उक्त अस्पतालको सेवा बन्द गर्न १२ घण्टाको समय दिएर चेतावनी दिइएको भए पनि हमास प्रशासनले अटेर गरेको दाबी गरेको छ । हमासले मानव ढालको रूपमा गैर सैनिकहरूलाई प्रयोग गरिरहेको इजरेलको आरोप छ। उसले सर्वसाधारणलाई क्षति नगर्ने नियत राखेर कारबाही अघि बढाइने दाबी गरेको छ।


अल‍–शिफा अस्पतालमा कति मानिसहरू छन्
गाजाको अल‍–शिफा अस्पतालमा हजारौँ बिरामी र आश्रय लिइरहेका मानिसहरू रहेको ठानिएको छ । पछिल्लो समय इजरेली फौजले यसलाई घेराबन्दीमा राखेको थियो । यहाँ रहेका मानिसहरूबारे फरक फरक आकलन सार्वजनिक भएका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्गलवार यहाँ ७०० जना बिरामी, ४०० जना अस्पतालका कर्मचारी र ३,००० जना गैरसैनिक सर्वसाधारण रहेको बताएको थियो ।

हमासले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालयले भने त्यहाँ २,३०० जना मानिसहरू रहेको र त्यसमा ६५० जना बिरामी २०० देखि ५०० कर्मचारी र १,५०० जना गैरसैनिक रहेको जनाएको छ।
गाजाको सबैभन्दा ठूलो भनिएको यो अस्पतालमा ७०० शय्या क्षमता रहेको छ । 

सर्वसाधारणको जीवन कष्टकर

निरन्तरको भिडन्तका कारण पालमा सुतिरहेका गाजाका हजारौँ मानिसहरूले वर्षाका कारण कष्टकर रात बिताएका छन् ।
अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १,२०० जना मारिनुका साथै २०० जना भन्दा बढीलाई बन्दी बनाइएपछि इजरायलले निरन्तर गाजामाथि आक्रमण गरिरहेको छ।

गाजामा भएको इजरायली हमलामा अहिलेसम्म ११,००० जनाभन्दा बढीको ज्यान गइसकेको र त्यसमध्ये ४,५०० जना बालबालिका रहेका छन् । 

Scroll to Top