गौतमबुद्ध रंगशालामा तत्काल निर्माण सुरु हुने

बागमती प्रदेश सरकार र भरतपुर महानगर पालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मिलेर निर्माण गर्ने

काठमाडौं । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम तत्काल अघि बढ्ने भएको छ । रंगशाला निर्माणको मोडालिटी टुङ्गो लागेसँगै क्रिकेट रंगशाला निर्माणको काम तत्काल अघि बढ्ने भएको हो । 

बागमती प्रदेश सरकार र भरतपुर महानगर पालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई मिलेर निर्माण गर्ने समझदारी गरेका छन् । प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेल र भरतपुर महानगरकी मेयर रेणु दाहालले रंगशाला निर्माणको लगानी मोडालिटीमा मंगलबार समझदारी गरेका छन् । 

समझदारी अनुसार तत्काल १० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमती बनेको छ । समझदारी अनुसार १० हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि करिब ७५ करोड रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेशले ७० प्रतिशत तथा भरतपुर महानगरले ३० प्रतिशत बजेट लगानी गर्ने सहमती बनेको छ । 

प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले पछिल्लो समझदारीले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणले तत्काल गति लिने बताए । ‘लगानीको मोडालिटीको टुङ्गो लागेसँगै तत्काल १० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्छ । प्रदेश सरकार र भरतपुर महानगरले मिलेर रंगशाला निर्माण गर्ने समझदारी बनेको छ ।’ सदस्य सचिव भण्डारीले खेलपाटीसँग भने ।

‘रंगशालाका पुरा डीपीआर ३० हजार दर्शक क्षमताको हो । अहिले १० हजार दर्शक क्षमताको बन्छ । बाँकी दोस्रो चरणमा अघि बढ्छ ।’ भण्डारीले थपे । 

Scroll to Top