चन्दन भराटेश्वर महादेव मन्दिरमा अझै विवाद, के भन्छन् स्थानीयहरु ?

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा रहेको चन्दन भराटेश्वर महादेव मन्दिरमा अझै विवाद भइरहेको छ ।
सार्वजनिक तथा धार्मिक क्षेत्रमा बाह्य अतिक्रमणविरुद्ध संघर्ष समिति नगाँचा, महादेवस्थानद्धारा स्थानीय सरकार चन्द्रागिरि नगरपालिकासँग विभिन्न माग राखी विरोध प्रदर्शन गर्दै आइरहेको छ ।
यसै विषयलाई लिएर चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले हालै चन्दन भराटेश्वगर महादेव मन्दिरमा निरीक्षण गर्नुभएको थियो । यस क्रममा उहाँले स्थानीयहरुको भावनाविरुद्ध आफुहरु नजाने कुरा व्यक्त गर्नुभएको थियो । यो मन्दिर ऐतिहासिक, सांस्कृतिक, धार्मिक मन्दिर भएको तथा स्थानीयहरु आस्थाको केन्द्र भएकोले यस मन्दिरलाई स्थानीयहरुको सहयोग र साथ भएपछि मात्र बनाउने पनि उहाँले त्यहाँ प्रष्ट पार्नुभएको स्थानीय प्रेम महर्जनले जानकारी दिए ।


यसै विषयलाई लिएर आज बिहान मन्दिर परिषरमा छलफल भएको थियो । चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरिको आश्वासन ठीकै भएको तर व्यवहार र विश्वास गर्न तत्कालै नसकिने भन्दै तत्काल टेन्डर रोक्नुपर्ने र नगर, वडा र संघर्ष समितिबीच लिखित सम्झौता गरेर मात्र काम अगाडि बढाउन वडा तर्फबाट पहल गर्नुपर्ने निष्कर्ष गरेको संघर्ष समितिका संयोजक इन्द्र महर्जनले जानकारी दिए ।
स्थानीयको माग सम्बोधन नगरी एकतर्फी रुपमा टेन्डर भएअनुसार निर्माण कार्य अगाडि बढाएमा त्यसलाई रोक्न संघर्षका थप सशंक्त कार्यक्रम ल्याउने र तत्काल काम नरोके जे सुकै पनि गर्न आफूहरु तयार रहेको र केही भवितव्य भइहालेमा त्यसको जिम्मेवारी मेयर, वडाअध्यक्षले लिनुपर्ने संघर्ष समितिका संयोजक महर्जनले बताए ।


वडा र नगरले नै एउटै ठाउँमा दुई पक्षलाई नै निर्माण अनुमति दिएर भिडाउन खोजेको आरोप महर्जनले लगाए ।
स्थानीयहरुले सामुदायिक गुठी भवन विना रोकतोक निर्वाधरुपमा निर्माण गर्न दिनुपर्ने, परापूर्व कालदेखि स्थानीय बासिन्दाले आफ्नो धार्मिक आस्थामा रही स्वतन्त्रपूर्वक धार्मिक क्रियाकलाप गर्न पाउनुपर्ने, सार्वजनिक जग्गामा व्यक्ति विशेषको लागि आवासीय तथा छात्रावास भवन निर्माण गर्न नपाउने, मानव बस्ती विकास सँगसँगै हालसम्मका कायम रहेको चन्दन भराटेश्वर महादेवलगायत अन्य गणेश, नाःस, सरस्वती, भैरवजस्ता पुरातात्विक महत्वका मठ मन्दिर, कुवा, धारा पाटीको संरक्षण गर्नुपर्ने लगायतका विभिन्न माग राखी विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
भारत सरकारबाट पहिलो चरणमा करिब पाँच करोड रुपैया सहयोगमा चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाल लगायतका संरचना निर्माण गर्न माघ १८ गते चन्द्रागिरि नगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावास बीचमा त्रिपक्षीय सम्झौता भइसकेको छ ।
यसै विषयलाई लिएर त्यहाँंका स्थानीयहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन् । ऐतिहासिक, धार्मिक चन्द्रन भराटेश्वर महादेव मन्दिर वरिपरि खाली ठाउँ हुनुपर्नेमा यस्ता खाले छात्रावास भवन निर्माण गर्नाले मन्दिरको अस्तित्व नै गायव हुने स्थानीय बुढापाकाहरु दुःख मनाऊ गर्छन् ।

Scroll to Top