चन्द्रागिरिमा पुस २७ गते पुराना फोटोहरुको विशेष प्रदर्शनी हुँदै

थानकोट ।

भोलि पुस २७ गते शुक्रबारका दिन चन्द्रागिरि नगरपालिका नैकापमा चन्द्रागिरि क्षेत्रका पुराना तस्बिरहरूको विशेष प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ ।

नैकापमा रहेको कमला कार्की स्मृति प्रतिष्ठानको नवाैं स्मृति दिवस तथा सम्मान कार्यक्रमको अवसरमा सो प्रदर्शनी आयोजना हुन लागेको हो । सो क्रममा चन्द्रागिरि नगर क्षेत्रमा खिचिएका ६ दशक पुराना तस्बिर तथा करिब १ सय ६० वर्षअघि कोरिएका चित्रहरू प्रदर्शनी हुने कमला कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिनुभयो ।

नेपाल फोटो फाउण्डेशन तथा फोटो म्युजियम नेपालसँगको सहकार्यमा उक्त फोटो प्रदर्शनी हुन लागेको हो । नेपाल फोटो फाउण्डेशनका जीवन नेपालका अनुसार प्रदर्शनीमा १७० वटा भन्दा बढी तस्बिर तथा चित्रकला समावेश हुनेछन् ।

४० वटा तस्बिर भने पहिले र अहिले तुलनात्मक रूपमा प्रस्तुत हुनेछ । कमला कार्की स्मृति प्रतिष्ठानले विगत ९ वर्षदेखी चन्द्रागिरि नगरमा राष्ट्रिय ख्याति कमाएका ६ जना महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ।

कार्यक्रम नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयमा हुने बताइएको छ !

Scroll to Top