चन्द्रागिरिमा भोलिबाट ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आउँदै

काठमाडौं : नेपालकै हालसम्मको सबैभन्दा ठूलो दाबी गरिएको एम्यूजमेन्ट मनोरञ्जन स्थलपार्क मंसिर ९ गतेबाट सञ्चालनमा आउने भएको छ । करिब १८ महिनाको तयारीपछि सो एम्यूजमेन्ट मनोरञ्जन स्थलपार्क सञ्चालनमा आउन लागेको संचालक सुमन पुनले जानकारी दिए ।

५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाईला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् । बालबालिकादेखि पाका उमेरका व्यक्तिले कलाको अवलोकन गर्दै २ ,३ घण्टा सजिलै बिताउन सक्छन् । एउटै घरमा बसेर प्राकृतिक सौन्दर्यदेखि संसारका विभिन्न दृष्यसँग रमाउन सकिने यस एम्यूजमेन्ट पार्क , सुमन पुन र उनका साथीहरु मिलेर खोलेका हुन । रोजगारीको सिलसिलामा करिब २ दशक विदेशमा बिताएका पुनको अनुभव तथा सोंचमा सो एम्यूजमेन्ट पार्क तयार भएको हो । हालसम्म यस एम्यूजमेन्टमा ६ करोड रूपैयाँ खर्च भइसकेको पुनले जानकारी दिए ।

सपनामा जस्तै देखिने मायावी दृश्य कलाकृति मार्फत प्रस्तुत गर्ने उद्देश्यले सञ्चालक पुन तथा उनको समुहले यस पार्कको नाम ड्रिम वर्ल्ड एम्यूजमेन्ट जुराएको छ । जसले सपनाको विश्व भन्ने दर्शाउँछ । पुनले थ्रीडी म्युजिएमका लागि ३ जना कलाकारहरु जम्मा गरेर पेन्टिङहरु बनाउन शुरु गरेका थिए । पछिल्लो समय चन्द्रागिरि नगर क्षेत्र स्वदेशी तथा विदेशी नागरिकहरूका लागि घुम्ने प्रमुख गन्तव्य भइरहेको सन्दर्भमा यस म्यूजियममा पुगेपछि छुट्टै आनन्द मिल्ने पुनको दाबी छ । चन्द्रागिरि हिल्स तथा त्रिभुवनपार्कमा समय व्यतित गर्न आउने जुनसुकै उमेर समुहका व्यक्तिहरूका लागि पार्क राम्रो गन्तव्य हुने अपेक्षा व्यवस्थापनले लिएको छ । कम्पनीले हाल प्रत्यक्ष १२ जनालाई रोजगारी दिएको बताइएको छ ।

एम्यूजमेन्ट पार्कमा रेस्टुरेन्ट तथा नेपालका दुर्लभ तथा पुराना तस्बिरहरूको प्रदर्शनी कक्ष समेत सञ्चालन हुनेछन् । पार्कभित्र छिरेपछि एउटा नौलो र छुट्टै संसारको अनुभूति गर्न सकिन्छ । सञ्चालक पुनका अनुसार विदेशमा धेरै प्रयोगमा आए पनि नेपालमा भित्र्याएको थ्रीडी आर्ट म्युजियममा मानिसलाई छुट्टै संसारमा गएको अनुभूति हुन्छ । प्रेमसँग सम्बन्धित कला तथा आकृतिले भरिपूर्ण यस स्थलमा मानिसहरुले सबै तनावबाट मुक्त भएर आनन्द लिन सक्छन् ! जहाँ थ्रीडी स्टुडियो, थ्रीडी आर्ट, बटर फ्लाइ विङ्स, बबल रूम, लाइट रूम, लगायतको अनुभव गर्न पाइनेछ।

थानकोट चेकपोष्टबाट करिब १ किलोमिटरको दूरी ( घुमाउने ) मा रहेको यस एम्यूजमेन्ट पार्क चन्द्रागिरि केबलकारको बटम स्टेशन नजिकै रहेको छ ।

तस्बिर : ईश्वर कुमार श्रेष्ठ/शोणितपुर खबर

Scroll to Top