चन्द्रागिरिमा वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम सम्पन्न

थानकोट । यूएसआईडी स्वच्छ हावा परियोजना अन्तर्गत चन्द्रागिरि नगरपालिकामा सञ्चालन भएको वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यमूलक तालिम समापन भएको छ ।
काठमाडौं उपत्यकाको वायुको गुणस्तर सुधार गर्न आयोजित डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम आज एक कार्यक्रमका बीच भएको थियो ।


वायु प्रदूषणलाई सम्बोधन गर्न निजी क्षेत्रको संलग्नता र लगानी बढाउने उद्देश्यले आयोजित वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तीन दिने तालिमको आज तेस्रो दिनमा चन्द्रागिरि नगरपालिका ७ मा रहेको महांकालस्थान सामुदायिक वनमा आयोजित कार्यक्रममा आगोलागी हुँदा कसरी आगो नियन्त्रणमा लिन सकिन्छ भन्ने डेमो देखाइएको थियो ।
डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत शंकर थापा, शव डिभिजन वन कार्यालय, थानकोटका वन अधिकृत असोक पराजुली, चन्द्रागिरि नगरपालिकाका भद्रा अर्याल, प्रशिक्षक बुद्धिप्रसाद पौडेल, स्वच्छ हावाका प्राविधिक भोला भट्टराई, महांकालस्थान सामुदायिक वनका अध्यक्ष निराजन महत, उपाध्यक्ष निर्मला महत लगायतको उपस्थिति उक्त कार्यक्रम भएको थियो ।
चन्द्रागिरि नगरभित्रका २३ वटा सामुदायिक वन समुह, चन्द्रागिरि नगर प्रहरीले भाग लिएको तीन दिने वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यमूलक तालिममा आज सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


वन डढेलो भनेको ९५ प्रतिशत मानवीय कारणबाट हुन्छ भने ५ प्रतिशतचाहिँ प्राकृतिक कारणले हुने डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत शंकर थापाले बताउनुभयो ।
आगो लागिसकेपछि हामीले नियन्त्रण गर्नुभन्दा लाग्नै नदिन हामीले के गर्न सक्छौं भन्ने पहल गर्नुपर्छ, त्यही जनचेतनाको लागि हामीले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको अधिकृत थापाले जानकारी दिनुभयो ।

महांकालस्थान सामुदायिक वनका अध्यक्ष निराजन महतले वन डढेलो न्यूनीकरण सचेतना सप्ताह २०८० महांकाल सामुदायिक वनमा मनाउन पाउँदा आफू ज्यादै हर्षित भएको र आगामी दिनमा पनि यस्ता खाले रचनात्मक कार्यक्रमहरु गरिरहने प्रतिवद्धता व्यक्त गर्दै सम्पूर्ण सहभागीहरुलाई स्वागत तथा धन्यवाद दिनुभयो ।

Scroll to Top