चन्द्रागिरिमा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम सुरु

थानकोट । चन्द्रागिरि नगरपालिकामा वन डढेलो रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ दिने तालिम सुरु भएको छ ।
यूएसएआईडीको सहयोगमा आयोजित कार्यक्रम चन्द्रागिरि नगरपालिका, यूएसएआईडी स्वच्छ हावा, डिभिजन वन कार्यालय, चन्द्रागिरि नगरपालिकाभित्रका २३ वटा सामुदायिक वन उपभोक्ता समुहको सहभागीतामा आयोजित सो कार्यक्रम चन्द्रागिरिमा सुरु भएको हो ।


चन्द्रागिरि ७ स्थित ग्रीनल्याण्ड बैंक्वेटमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख धनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्की, चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्याल, सव डिभिजन वन कार्यालयका वन अधिकृत असोक पराजुलीलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा नगरप्रमुख धनश्याम गिरीले विरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । ३ दिनसम्म सञ्चालन सो कार्यक्रममा वन डढेलोबाट हुने क्षति तथा असरहरु र बच्ने उपायहरुको बारेमा श्रव्य दृष्यमार्फत तथा बनमा नै गएर तालिम दिने जनाइएको छ ।
अहिले घरघरमा ग्यास चुलो बाल्ने, गाईबस्तुहरु पाल्न छोड्नाले वनमा दिनप्रतिदिन झाडीहरु विकास हुँदै गर्दा यसले वनमा डढेलोको उच्च जोखिम बढ्दै गइरहेको नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाभित्र रहेका वनमा लम्सी, एभोकाडो, कटुसजस्ता नगद आम्दानी हुने विरुवा रोप्न नगरपालिकाले सहयोग गर्ने र यस्ता विरुवालाई नगरपालिकाले प्रतिबोट १०० रुपैयाँ दिने पनि नगर प्रमुख गिरीले बताउनुभयो ।

चन्द्रागिरि नगर तीनतिरबाट वनले घेरेको हुँदा वन डढेलोको उच्च जोखिम भएले यस कार्यक्रमले वन डढेलोसम्बन्धी जनचेतना बढ्नुका साथै वन डढेलो लागिहाल्दा कसरी निभाउन सकिन्छ भन्नेबारे यस तालिमले सहयोग पुग्ने नगर उपप्रमुख बसन्ती श्रेष्ठले बताउनुभयो ।
यूएसएआईडी स्वच्छ हावाले प्रारम्भिक चरणमा सरोकारवालाहरुसँगको सहकार्यमा पाँच नगरपालिकाहरुमा काम गर्नेछ र विस्तारै काठमाडौं उपत्यकाका सबै १८ नगरपालिकाहरुमा गतिविधि विस्तार गर्नेछ ।
यसअन्तर्गत अहिले चन्द्रागिरि नगरपालिकामा वन डढेलो न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यमूलक तालिम सुरु भएको छ ।

Scroll to Top