चन्द्रागिरिमा सामुदायिक नर्स कार्यक्रम : घरघरमै स्वास्थ्य सेवा दिनेमा चन्द्रागिरि नगरपालिका पहिलो

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरी घरघरमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
यस्तो कार्यक्रम गर्नेमा देशभरिमै चन्द्रागिरि नगरपालिका पहिलो नम्बर पर्छ । घरघरमै स्वास्थ्य सेवा दिनेमा अहिलेसम्म तीनवटा नगरपालिकाले मात्र सुरु गरेको छ ।
यस किसिमको सेवा अन्तर्गत स्क्रिनिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँचवर्ष मुनिका बालबालिकाको स्वास्थ्य सर्वेक्षण, परामर्श, प्रेषण, फलोअप, गर्भवती घरभेट, सुत्केरी घरभेट, विद्यालय र समुदाय स्तरमा स्वास्थ्य शिक्षा जनचेतना लगायतका सेवा प्रदान भइरहेको छ ।
नगर प्रमुख घनश्याम गिरीले सामुदायिक नर्स कार्यक्रम मार्फत घरघरमै स्वास्थ्य सेवा एवं परामर्श प्रदान गरिरहेको जानकारी दिनुभयो । नगरपालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर तथा आङ्ग खस्ने समस्या समयमै पहिचान गरी उपचार सेवाको पहुँचमा ल्याउन ‘स्क्रिनिङ तथा व्यवस्थापन’ कार्यलाई तीब्र बनाएको छ ।

नगरपालिकाले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत आफ्ना १५ वटै वडामा स्वास्थ्य शिविरनै सञ्चालन गरी ‘स्क्रिनिङ तथा व्यवस्थापन’ कार्यलाई अगाडि बढाइरहेको छ ।


नगरपालिकाले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत आफ्ना १५ वटै वडामा स्वास्थ्य शिविरनै सञ्चालन गरी ‘स्क्रिनिङ तथा व्यवस्थापन’ कार्यलाई अगाडि बढाइरहेको छ ।
हालसम्म चन्द्रागिरि –२, चन्द्रागिरि –७, चन्द्रागिरि –१५ मा स्वास्थ्य शिविर सम्पन्न भइसकेको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत शम्भु कुमार महतोले जानकारी दिनुभयो ।
चन्द्रागिरि –२ बाडभञ्ज्याङ स्थित स्वास्थ्य चौकीमा शनिबार सञ्चालित शिविरमा २१४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस्तै, चन्द्रागिरि –७ स्थित शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको स्वास्थ्य शिविरमा १८२ जना तथा चन्द्रागिरि १५ स्थित तीनथाना स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा १८६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सो शिविरमा मुटु जाँच तथा साधारण जाँच पनि गरिएको थियो ।
नगरप्रमुखले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रमलाई उच्च महत्व दिँदै नगरका सबै वडाका स्वास्थ्य संस्थामा महिला स्वास्थ्य सेवा प्रदान भइरहेको कुरा बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा डायलासिस सेवा पनि सञ्चालनमा ल्याउने भएको छ । वि सं २०७६ बैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र वर्थिङ सेन्टर सहितको सेवा प्रदान गरिरहेको छ ।
अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

Scroll to Top