चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु

काठमाडौं ।

चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु भएको छ । संघीय सरकारले बजेट दिएपछि सडक डिभिजन काठमाडौंले स्तरोन्नति तथा मर्मत–सम्भार सुरु गरेको हो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु श्रेष्ठका अनुसार अर्थ मन्त्रालयले ६ करोड दिने सहमति गरिसकेको छ भने चालू आवका लागि साढे दुई करोड बजेट विनियोजन गरिएको छ । ‘बजेट विनियोजन भइसकेपछि अब बाँकी काम पनि अघि बढ्छ, अहिले काठमाडौंतर्फको काम भइरहेको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले बजेट दिने सहमति गरे पनि बजेट दिइसकेको छैन, चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेटअन्तर्गत काम भइरहेको छ ।’ यो सडकमा करिब एक महिनाअघि भएको दुर्घटनामा एकै परिवारका पाँचजनाको मृत्यु भएको थियो । त्यसलगत्तै लामो समयदेखि सडक मर्मत–सम्भार नभएको भन्दै विरोध र आलोचना सुरु भएको थियो । 

थानकोटदेखि मकवानपुरसम्म करिब २२ किलोमिटर सडकको अधिकांश क्षेत्र अस्तव्यस्त छ । मर्मत–सम्भार नहुँदा यस खण्डमा दुर्घटना बढ्दै गइरहेको छ । सडक जीर्ण, अस्तव्यस्त भएपछि चित्लाङ तथा मकवानपुर क्षेत्रका स्थानीयले पटक–पटक ध्यानाकर्षण गराउँदै आइरहेका छन् ।

Scroll to Top