चन्द्रागिरि डाँडा हुँदै चित्लाङ्गसम्म प्याराग्लाइडिङ सुरु

काठमाडौँ । चन्द्रागिरि डाँडा हुँदै चित्लाङ्गसम्म प्याराग्लाइडिङ सुरु भएकाे छ । काठमाडौँ उपत्यकाको चर्चित गन्तव्य थानकाेटनजिकै चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको प्रशिक्षक पाइलट सानोबाबु सुनुवारले जानकारी दिनुभयाे । अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । 

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट  ‘एडभेञ्चर्स अफ इयर-२०१२’ अवार्ड विजेता समेत हुन् । 

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने सुनुवार बताउँछन् ।  चन्द्रागिरि (२३ सय मिटर)बाट सुरु भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ । अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौँ उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको  समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमशृङ्खलाने जो कोहीलाई मोहित बनाउँछ । 

सरकारी अनुमति अनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडिङ उडाउन सकिने सुनुवार बताउँछन् । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए । 

स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकावासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको बताउँछन् । 

उनले भने,’नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौँमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’

कम्पनी ‘क्रस कन्ट्री’ उडाउन गराउन समेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भैसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरी करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु गर्न सफल भएको सुनुवारले जानकारी दिए ।

कम्पनीले चन्द्रागिरिमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ  शुल्क कायम गरेको छ भने विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए ।

कम्पनीको सवारीमा जाने-आउने सुविधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । 

चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिन अघि नै सम्पर्क गर्नुपर्नेछ । जसका लागि कम्पनीको वेबसाइट मार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिन्छ ।

चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्न थानकाेट-चेकपोस्ट गणेशमानसिंह राजमार्ग हुदै २० मिनेटमा पूग्न सकिन्छ ।

Scroll to Top