चन्द्रागिरि नगरपालिकाद्वारा नगरपालिका भित्रका मुख्य सडक तथा चोकहरुमा सी सी टि भी क्यामरा जडान कार्य शुरु

” चन्द्रागिरि नगरपालिकाद्वारा नगरपालिका भित्रका मुख्य सडक तथा चोकहरुमा सी सी टि भी क्यामरा जडान कार्य शुरु, पहिलो चरणमा दशैं अगाडीनै २०० थान जडान गरिदै; नगरपालिकामा चाडपर्ब लक्षित सुरक्षा ब्यबस्थापन सम्बन्धि बैठक सम्पन्न”

चन्द्रागिरि नगरपालिकाले नगरपालिका भित्रका मुख्य सडक, चोक तथा अन्य सार्वजनिक स्थानहरुमा सी सी टि भी क्यामरा जडान कार्य शुरु गरेको छ। नगरपालिकाले यस अघि नै कलंकी नागढुंगा पिपलामोड सडक खण्डमा अत्याधुनिक प्रविधिको सी सी टि भी जडान गरिसकेको छ। नगरपालिकाद्वारा विनियोजित बजेटबाट टेण्डर प्रकृया सम्पन्न भए लगत्तै फाइबर बिच्छाउने काम सकेर सी सी टि भी जडान कार्य शुरु भएको हो। पहिलो चरणमा आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नगरपालिकाको विभिन्न वडाका मुख्य सडक तथा चोकहरुमा २०० थान सी सी टि भी जडान गरिने छ। यो संगै चरणबद्ध रुपमा नगरको विभिन्न स्थानहरुमा पनि सी सी टि भी जडान गर्ने कुरा नगर प्रमुखज्युले नगरपालिकामा आयोजित सुरक्षा सम्बन्धि बैठकमा बताउनु भयो। उक्त बैठकमा नगर प्रमुखज्युले नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत यसै आर्थिक वर्षमा थप सडक बत्तिहरु पनि जडान गर्ने कुरा जानकारी गराउनु भयो। नगर प्रमुखज्युले उक्त बैठकमा उपस्थित नगरपालिका भित्रका नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ तथा ट्राफिक प्रहरीका प्रतिनिधिहरुलाई आउदै गरेको चाडपर्बमा नगरबासीको सुरक्षाको लागि विषेश कदम लिन निर्देशन पनि दिनु भयो। उक्त सुरक्षा ब्यबस्थापन सम्बन्धि बैठकमा नगर उपप्रमुखज्यु, नगर प्रबक्ताज्यु, प्रमुख प्रशासकीय अधिकृतज्युका साथै विभिन्न वडाका अध्यक्षज्युहरु तथा कार्यपालिका सदस्यज्युहरुको उपस्थिति रहेको थियो।

Scroll to Top