चन्द्रागिरि नगरपालिकामा मंसिर २० गतेदेखि चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु हुँदै

चन्द्रागिरि नगरपालिकामा यही मंसिर २० गतेदेखि चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु हुँदै छ ।

प्रतियोगितामा ३७ विद्यालयका १ हजार ३ सय ९२ जना विद्यार्थीले भाग लिने चन्द्रागिरि नगरपालिकाले सोमबार गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख घनश्याम गिरीले जानकारी गराए । प्रतियोगिताको उद्घाटन समारोह नैकाप फुटबल मैदानमा मंसिर २० गते बिहान १० बजे हुनेछ ।

तीन दिने प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी र मार्सल आर्टस् विधाका खेलहरू सतुगंलस्थित एआ स्कुल तथा ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदानमा आयोजना हुनेछ ।

प्रतियोगितामा १३९२ विद्यार्थी खेलाडीहरु मध्ये छात्र ८१८ र छात्रा ५७४ जना सहभागी हुने छन् भने प्रतियोगिताभरी विद्यार्थी खेलाडीहरुलाई चन्द्रागिरि नगरपालिकाले खाजाको व्यवस्था गर्ने नगर प्रमुख गिरीले जानकारी गराए ।

विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र, पदक प्रदान गरिनेछ भने विधागत विजयी विद्यालयलाई कप प्रदान गरिने छ । सबै विधाको प्राप्त नतिजा अनुसार सर्वोत्कृष्ट विद्यालयलाई रनिङ्ग शिल्ड, कप र द्वितीय तथा तृतीय हुने विद्यालयलाई कप प्रदान गरिनेछ ।

विद्यार्थीहरुको पढाइका साथै यस्ता खाले विविध खेलकुद क्रियाकलापले विद्यार्थीको खेलकुदप्रति रुची बढ्नुका साथै नगर, जिल्ला, प्रदेश, राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत भाग लिन सक्षम हुने नगर उपप्रमुख बसन्ती श्रेष्ठले बताइन ।

यसैगरी वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले विद्यालय स्तरबाट नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गरी भविष्य निर्माणका लागि यस्ता खाले खेलकुद प्रतियोगिता बेलाबेलामा भइरहनु पर्ने बताए ।

Scroll to Top