चन्द्रागिरि नगरपालिकामा आजदेखि चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

चन्द्रागिरि नगरपालिकामा आजदेखि चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

३७ विद्यालयका १ हजार ३ सय ९२ जना विद्यार्थीले भाग लिने यस प्रतियोगिता नैकाप फुटबल मैदानमा नगर प्रमुख घनश्याम गिरीले बेलुन उडाएर उद्घाटन गरेका हुन् । चन्द्रागिरि नगर उप प्रमुख बसन्ती श्रेष्ठ, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारीलगायत नगरका विभिन्न विद्यालयका प्रतिनिधि, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरूले मार्चपास गरेका थिए ।

तीन दिने प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी र मार्सल आर्टस् विधाका खेलहरू सतुगंलस्थित एआ स्कुल तथा ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदानमा आयोजना हुनेछ ।

प्रतियोगितामा १३९२ विद्यार्थी खेलाडीहरु मध्ये छात्र ८१८ र छात्रा ५७४ जना सहभागी हुने छन् भने प्रतियोगिताभरी विद्यार्थी खेलाडीहरुलाई चन्द्रागिरि नगरपालिकाले खाजाको व्यवस्था गरेको छ ।

विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र, पदक प्रदान गरिनेछ भने विधागत विजयी विद्यालयलाई कप प्रदान गरिने छ । सबै विधाको प्राप्त नतिजा अनुसार सर्वोत्कृष्ट विद्यालयलाई रनिङ्ग शिल्ड, कप र द्वितीय तथा तृतीय हुने विद्यालयलाई कप प्रदान गरिनेछ ।

Scroll to Top