चन्द्रागिरि नगरपालिकामा रहेकाे २२०/१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न

काठमाडौं । मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकामा रहेकाे २२०/१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले यो सबस्टेसनको निर्माण सम्पन्न भएको जनाएको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ सबस्टेसन निर्माण गरिएको हो ।

सबस्टेसनको क्षमता ३२० एमभीए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणहरुको सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिएका छन् ।

‘मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब वा मार्कीचोक सबस्टेसन बन्नु पर्ने छ, मार्कीचोक सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ, त्रिशूली ३ बी हब आगामी चैतको दोस्रो साताभित्र चार्ज गर्ने गरी काम भइरहेको छ, उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिने छ,’ उनले भने ।

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो ।

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको ठेकेदारको कार्यसम्पादन सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी काम गर्न २०७७ पुसमा नयाँ ठेक्का लगाएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । दुई वटा सबस्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।

Scroll to Top