चन्द्रागिरि नगरपालिकाले आयुर्वेदिक जडीबुट्टी बगैंचा र प्रशोधन केन्द्र बनाउने

काठमाडौं ।
चन्द्रागिरि नगरपालिकाले आयुर्वेदिक जडीबुट्टी बगैंचा र प्रशोधन केन्द्र बनाउने बनाउने भएको छ । चन्द्रागिरि नगरपालिकाले जडीबुटी श्रोत सर्वेक्षण सम्पन्न गरेको छ । वार्षिक ५३ हजार केजी जडीबुटी संकलन गर्न सकिने सर्वेक्षणमा उल्लेख गरिएको छ ।
हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा १५ शैयाको मातातीर्थ आयुर्वेद अस्पताल सञ्चालन गरिरहेको छ ।
नगरपालिकाले आफ्नो सामुदायिक वन क्षेत्रभित्र रहेका सुगन्धवाला, चिरैतो, गुर्जा, तितेपाटी, टिमुर, पाखानवेडा, धसिङ्गरे, लौथसल्ला, पिपला र कौलोका आयुर्वेदिक प्रजातिको संरक्षण, उपयोग र प्रवर्द्धन गर्ने भएको छ । यसका लागि नगरपालिकाले पहिलो पटक जडीबुटी स्रोत सर्वेक्षण सम्पन्न गरेको छ ।
चन्द्रागिरि नगरपालिकाका १५ सामुदायिक वनमध्ये जडीबुटी क्षेत्र पहिचान गरी ८ वटा विभिन्न सामुदायिक वनमा सर्वेक्षण गरिएको थियो ।
ती वन क्षेत्रको ७१३ हेक्टरमध्ये १०० देखि १५० हेक्टरमा १०० प्रकारका जडिबुटी पाइन्छन् । ती जमिनमा ६० प्रकारका जडिबुटीहरू भेटिएका छन् । अनुसन्धान सर्वेक्षणले प्रमाणित गरेको दश प्रकारका विभिन्न जडीबुटीहरूलाई व्यावसायिक औषधिको रूपमा प्रवर्द्धन गर्न सकिन्छ । ती जडीबुटीबाट वार्षिक ५३ हजार केजी संकलन हुने बताइएको छ । त्यसबाट वार्षिक ३५ लाख रुपैयाँ बराबरको आम्दानी गर्न सकिने सर्वेक्षणमा उल्लेख छ ।


अध्ययन तथा लागत संकलन सर्वेक्षण अध्ययन टोलीले एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको हो । सो अवसरमा नगरपालिकाले औषधी र सुगन्धित जडीबुटीको संरक्षण, संवर्धन र उपयोगको नीतिले आगामी दिनमा मातातीर्थ आयुर्वेदिक अस्पताललाई आवश्यक पर्ने स्रोतसाधनलाई मजबुत बनाउने बताएको छ ।
नगर प्रमुखले सामुदायिक वनको दिगो व्यवस्थापन र सदुपयोग गरी आयआर्जनमा जोड्ने र जैविक विविधता संरक्षण गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, मातेतीर्थ आयुर्वेदिक अस्पतालका प्रमुख डा नारायण आचार्य, जनप्रतिनिधि तथा शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
अध्ययन टोलीमा वन तथा वातावरण विज्ञ नवीनराज जोशी, स्नेहा बर्मा र शालिकराम कँडेल थिए ।

Scroll to Top