चन्द्रागिरिमा वाणासुरकालिन गुफाको केन्द्र पहिचान

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ मा अवस्थित ऐतिहासिक वाणासुरकालिन गुफा (दैबुजल गुफा)को अन्वेषण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले अध्ययन गरी आज एक कार्यक्रमका बीच सो अध्ययनको प्रतिवेदन चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी समक्ष पेश गरेको छ ।

पहिलो चरणमा स्थानीयवासीहरुसँग् अन्तर्वार्ता र सो पश्चात भूभौतिकी सर्वेक्षणसहितको प्राविधिक अध्ययन सकेर विभागले प्रतिवेदन तयार गरेको हो । विभागले अत्याधुनिक विद्युत प्रतिरोधक टोमोग्राफी मेसिन प्रयोग गरी उक्त अध्ययन गरेको हो ।

गुफाको केन्द्र पहिचान भइसकेको र अब थप अध्ययन र उत्खनन गर्न नेपाल सरकार पुरातत्व विभागसँग समन्वय गर्न पनि प्रतिवेदनमा सुझाव दिएको छ ।

नगर प्रमुख गिरीसहित उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल , वडा नं. ४ का जनप्रतिनिधिहरुका साथै त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडालगायतको उपस्थितिमा उक्त प्रतिवेदन पेश गरेको थियो ।

चन्द्रागिरि नगरपालिकाले २०८१ – १ – २० गते उक्त विभागसंग पुरातात्त्विक अन्वेषण लगायत प्राज्ञिक परामर्शको लागि दुई पक्षीय सम्झौता गरेको थियो।

Scroll to Top