काठमाडौं । चन्द्रागिरि नगरमा रहेको केभ्स क्याम्पसमा यो शैक्षिक सत्रदेखि डाटा साइन्सको पढाई हुने भएको छ ।
शैक्षिक सत्र २०८१ देखि हाल विश्वमै अति लोकप्रिय र सजिलै जागिर पाउन सकिने विषय डाटा साइन्स (Data Science)को पठनपाठन चन्द्रागिरि नगरपालिका वडा नं. ७ मा रहेको केभ्स कलेजमा हुने भएको छ ।
चन्द्रागिरि नगरमै पहिलो पल्ट डाटा साइन्सको पढाई गर्ने केभ्स नै पहिलो र एक मात्र कलेज भएको यस कलेजका प्राचार्य हरि महतको दाबी छ ।
डाटा साइन्स हाल विश्वमै अति लोकप्रिय विषय हो । यस विषय अध्ययन पश्चात डाटा साइन्टिस, डाटा इन्जिनियर आदि बन्न सकिन्छ । कम्प्युटर र गणितको बेजोड संगम रहेको यो कोर्षको अध्ययन गर्न भने त्यति सजिलो छैन ।
कक्षा १० मा ऐच्छिक गणित लिएका विद्यार्थीले मात्र पढ्न पाउने यो कोर्ष अध्ययन गर्न वार्षिक एक लाख दश हजार रुपैयाँ शुल्क लाग्ने प्राचार्य महतले बताए ।
डाटा साइन्स नेपालकै अलि नयाँ र ब्याच्लर लेवलमा पनि भर्खरै पढाई सुरु भएकाले प्लस २ लेवलमा पढाइने कलेजको संख्या पनि पहिलो नै भएको प्राचार्य महतको दाबी छ । काठमाडौं उपक्ष्यकाभन्दा बाहिरका विद्यार्थीका लागि कलेजले होस्टेलको समेत व्यवस्था गरेको छ ।
होस्टेलको लागि छुट्टै मासिक दश हजार शुल्क लाग्नेछ । स्वदेशमा जागिरको राम्रो सम्भावनाका साथै विदेशी विश्वविद्यालयमा पनि यो कार्षको अध्ययनपछि सजिलै भर्ना पाइने कुराको जानकारी प्राचार्य महतले दिए ।
यस वर्ष १५ जना विद्यार्थी मात्र भर्ना लिने पनि प्राचार्यले जानकारी दिए ।
यो कोर्ष पूरा गरिसकेपछि तथ्यांक विश्लेषकको जनशक्ति नेपालमै उत्पादन भई यसले एकातिर सरकारी तथा निजी कम्पनीलगायत सेयर बजारका डाटा विश्लेषण गरी ट्रेन्ड पत्ता लगाउन सहज हुनेछ भने अर्कोतिर बाह्य देशको डाटाको कामबाट विदेशी मुद्रा हासिल गरी देशको आर्थिक शक्ति मजबुत बनाउन भुमिका खेल्नेछ। स्कुलबाट उत्पादित जनशक्तिले स्वदेश तथा विदेशमा सहजै काम पाउनुका साथै तुलनात्मक रुपमा अन्य देशभन्दा नेपालमा यो कोस पढ्न कम शुल्क भएको उनको दाबी छ।
विश्वमै उत्कृष्ट एंव जागिरका लागि समेत अग्रस्थानमा आउन सफल डाटा साइन्सको माग हाल आएर नेपालमा पनि प्रतिदिन बढ्दै गइरहेको छ।