चन्द्रागिरि नगरवासीलाई मेट्रो रक्त सञ्चार सेवाले निःशुल्क रगत उपलब्ध गराउने

चन्द्रागिरि नगरवासीलाई मेट्रो रक्त सञ्चार सेवाले निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
पुस ३ गते चन्द्रागिरि नगरपालिका र मेट्रो रक्त सञ्चार सेवाबीच चन्द्रागिरि नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने बासिन्दाहरुलाई आवश्यकताअनुसार निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
यस अघि नै चन्द्रागिरि नगरपालिका र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवाबीच उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा स्थायी बसोबास गर्ने नगरबासीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धि सम्झौतामा हस्ताक्षर सम्पन्न भई सेवा प्रदान गर्न शुरु गरिसकेको छ ।
मेट्रो रक्त संचार सेवासँगको सम्झौता पश्चात् नगरबासीहरुलाई आवश्यकता परेको अवस्थामा थप सहजीकरण हुने चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
नगरपालिकाले निकट भविष्यमा संचालन गर्न लागेको डायलासीस सेवामा यस सम्झौताले थप सहयोग पुग्ने कुरा गिरीले बताए । चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल परिसरमा अर्को २५ शैयाको अस्पतालको निर्माण शुरु भइसकेको र उक्त अस्पतालको निर्माण पश्चात् नगरबासीहरुको लागि डायलासीस सेवा पनि शुरु गरिने नगर प्रमुख गिरीले जानकारी दिए ।

Scroll to Top