चन्द्रागिरि हिल्सले उठाएको शुल्कको विषयलाई लिएर ४ वन समिति एकजुट

काठमाडौं । चन्द्रागिरि हिल्स फेरि विवादमा तानिएको छ ।

हालै मात्र चन्द्रागिरि हिल्सले सर्वसाधारण हिडेर जाने बाटोको शुल्क लिएपछि त्यसको विरोधमा स्थानीयले चर्को विरोध गरेका छन् ।

स्थानीय स्तरमा विवाद सिर्जना भएपछि आज सव डिभिजन वन कार्यालय थानकोटका वन अधिकृत अशोक पराजुलीको संयोजकत्वमा चन्द्रागिरि वन संरक्षण तथा विकास समितिको पदाधिकारीको बैठक बसी छलफल भएको थियो ।

बैठकमा चन्द्रागिरि हिल्स लि.का कार्यकारी प्रमुख अरुण प्रधान, प्रशासन प्रमुख झलक पौडेल, महांकालस्थान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महतसहित विभिन्न वन समितिका पदाधिकारीहरु तथा सव डिभिजन वन कार्यालय थानकोटका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैठकले हाल चन्द्रागिरि हिल्सले हिड्ने बाटोमा लिइरहेको शुल्कको हकमा स्थानीयवासीहरुलाई निशुल्क प्रवेश गर्न दिनुका साथै चन्द्रागिरि हिल्स वरपर रहेको ४ वटा सामुदायिक वनमा चैत, बैशाक र जेठ महिनाको लागि वन हेरालु राख्ने निर्णय गरेको छ ।

त्यस्तै चन्द्रागिरि हिल्सले प्रत्यक्ष असर गर्ने सामुदायिक वनमा पहिरो नियन्त्रण, वन डढेलोजस्ता क्रियाकलापहरुमा सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरेको छ ।

चन्द्रागिरि डाँडाको भञ्ज्याङ्बाट हिडेर जाने धार्मिक पर्यटकहरुले सामुदायिक वनमा जथाभावी फोहोर फाल्ने गर्दा वन क्षेत्र र वातावरण प्रदुषण बढेकोले त्यसलाई नियन्त्रण गर्नको लागि शुल्क लिने निर्णय गरेको चन्द्रागिरि हिल्सका उपमहाप्रबन्धक श्याम तन्डुकारले जानकारी दिए । तर स्थानीयवासीहरुलाई भालेश्वर मन्दिर जान कुनै रोकतोक नगरिएको तन्डुकारले बताए । साथै शुल्क उठाएको पैसाले त्यस क्षेत्रमा फोहोर तथा सरफाइ गर्ने मान्छे राख्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

बैठकमा सहभागी महाँकालस्थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष निराजन महतले चन्द्रागिरि हिल्स र सरोकारवालाहरुको बिचमा भएको आजको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल र सहमति भएको बताए !

हाल चन्द्रागिरि हिल्सले हिडेर जाने धार्मिक पर्यटकहरुसँग १०० रुपैयाँ इन्ट्री फि लिएपछि चौतर्फी विरोध हुँदै आएको छ ।

Scroll to Top