चन्द्रागिरि १० मा वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय शाखाको उद्घाटन

काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नं. १०, सतुंगलमा वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय शाखाको आज एक कार्यक्रमबीच समुद्घाटन भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० को विष्णुदेवी सामुदायिक भवन, सतुंगलमा आयोजित समारोहमा नगर प्रमुख घनश्याम गिरीले दीप प्रजोलन गरेर समारोहको उद्घाटन गरेका थिए ।


नगरप्रमुख गिरीले नगरले ल्याएको ऐनलाई संशोधन गरेर नगरभित्र रहेका खानेपानी समितिलाई नगरको मापदण्डमा ल्याई नगरले तोकेको मूल्यमा पानी वितरण गर्नको लागि पहल भइरहेको जानकारी दिए । प्रमुख गिरीले नगरमा प्रयाप्त खानेपानी नहुँदा केही वडामा पानीको समस्या भएकोले दीर्घकालिन खानेपानीको व्यवस्थापनका लागि एडिबीसँग सहकार्य भएको पनि उल्लेख गरे।
चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठले वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय शाखा चन्द्रागिरि नगरपालिकाका सबै वडामा हुनुपर्ने कुरामा जोड दिइन ।


चन्द्रागिरि नगरपालिकाले ल्याएको खानेपानी ऐन कार्यान्वयन गर्ने उद्देश्यले वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय शाखा उद्घाटन गरिएको चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाअध्यक्ष शिवकुमार महर्जनले बताए । चन्द्रागिरि १० मा १५ सय घरधुरीलाई खानेपानी धारा वितरण गरिसकिएको र अब १ सय घरधुरीलाई चाँडोभन्दा चाँडो धारा वितरण गर्ने पनि बताए ।


कार्यक्रमा नगरको वातावरण शाखा प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

Scroll to Top