चन्द्रागिरि ६, ईटाखेल, गुमाल्चोकीमा आजबाट बस सेवा सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६, इटाखेल, गुमाल्चोकीमा आजबाट बस सेवा सञ्चालन भएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरउपप्रमुख वसन्ती श्रेष्ठ विशेष अतिथि, चन्द्रागिरि नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सञ्जय सिग्देल, वडासदस्य लक्ष्मी थापा, कान्छी पहेली, शान्ता बलामी, विवेक ढकालका साथै पाँच पोखरी सुनौलो यातायात प्रा.लिका अध्यक्ष अरुण श्रेष्ठको उपस्थितिमा गुमाल्चोकीमा आज एक कार्यक्रमका बीच बस सेवा सुरु भएको हो ।


चन्द्रागिरि नगर प्रमुखले उद्घाटन गरेको सो बस सेवा पाँंच पोखरी सुनौलो यातायात ईटाखेल, गुमाल्चोकी, थानकोट चेकपोस्ट, गुर्जुधारा, सतुंगल, नैकाप, कलंकी, स्वयम्भु, बालाजु, नयाँ बसपार्क, महाराजगञ्ज चक्रपथ, चावहिल, बौद्ध, जोरपाटी हुँदै दक्षिणढोका, थली, नयाँपाटी पुग्नेछ भने त्यही रुट हुँदै फेरि गुमाल्चोकी आइपुग्नेछ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ इटाखेलमा सुरु भएको बस सेवा आफूलाई खुशी लागेको र आगामी दिनमा चन्द्रागिरि नगरपालिका भरिनै यस्ता खाले बस सेवा सञ्चालन गर्न आफूले हरतरहको कोशिस गर्ने चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले बताए ।
त्यस्तै चन्द्रागिरि नगरपालिकाभित्र रहेको नैकाप फुटबल ग्राउण्ड हुँदै बाडभञ्ज्याग, थानकोट, इटाखेल, मातातीर्थ, मच्छेगाउँ हुँदै नैकाप फुटबल ग्राउण्डसम्म बस सेवा सञ्चालन गर्न आफूलाई ज्यादै इच्छा भएको पनि नगर प्रमुख गिरिले बताए ।
चन्द्रागिरि ६ मा बस सेवा सुरु भएकोमा आफूलाई खुशी लागेको चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठले बताइन । त्यस्तै बाटो सानो भएकोले ठाउँठाउँमा समस्या पर्न सक्ने तर त्यसलाई सबै मिलेर समाधान गर्नुपर्ने कुरामा उपप्रमुख श्रेष्ठले जोड दिइन ।

यस ठाउँसम्म बस सेवा सुरु गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुलाई चन्द्रागिरि ६ का वडाअध्यक्ष सञ्जय सिग्देलले धन्यवाद दिए । साथै ईटाखेलदेखि चेकपोस्टसम्मको बाटो साँघुरो भएकोले सबै स्थानीयहरुले सहयोग गर्नुहुनेछ भन्ने पनि विश्वास व्यक्त गरे ।

Scroll to Top